सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

२०८१ जेठ १३, ०८:२१ खबर संवाददाता

सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। 

खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन। यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ। डाक्टर गौतमले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनले खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्लास्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको बताए।

सात रोगविरुद्धको खोप पनि

खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने डाक्टर गौतमको भनाइ रहेको छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन्।

खोप शाखाका प्रमुख डाक्टर गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताए। ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए। सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा– रुवेला निवारण गर्ने लक्ष्यका यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न थालेको हो।

कमेन्ट लोड गर्नुस