धनगढीको बेहडाबाबा माविलाई उत्कृष्ट बनाउने उद्घोष
धनगढीः धनगढी उपमहानगरपालिका–१६ घसिटामा रहेको बेहडाबाबा माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था बनाउने उद्घोष गरिएको छ। विद्यालयको अभिभावक भेलामा विद्यालयलाई उत्कृष्ट बनाउने अभिभावकहरूले उद्घोष गरेका हुन्।
गत वर्ष नै नमुना विद्यालय घोषणा भएको बेहडाबाबालाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रयास भइरहेका छन्। शिक्षक, विद्यार्थी र अभिभावकसँगै उपमहानगरसँग हातेमालो गर्दै उत्कृष्ट शैक्षिक संस्था बनाउने प्रयासहरू भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारूले बताए। ‘हामी हाम्रो विद्यालयलाई धनगढीकै उत्कृष्ट विद्यालय बनाउन तल्लीन छौँ। सिकाइ उपलब्धि र अन्य अतिरिक्त क्रियाकलापमा विद्यालयलाई अब्बल साबित गर्न शिक्षक, विद्यार्थी र अभिभावक लागेका छौँ। त्यसको नतिजा पनि देखिन लागेको छ,’ अध्यक्ष राना थारूले भने।
बिहिवार भएको प्रथम अभिभावक भेलामा विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता गरिएको हो। उपमहानगरले गत वर्ष नै नमुना घोषणा गरेको बेहडाबाबा माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार शिक्षक, विद्यार्थी र अभिभावकले एक ढिक्का भएर प्रयास गर्ने भएका हुन्। अभिभावक भेलामा उपस्थित अभिभावकहरूले विद्यालय उपयुक्त शैक्षिक वातावरण निर्माण भएको बताएका छन्। विद्यालयमा गत वर्षबाट सार्वजनिक विदाका दिन समेत गुणस्तरीय शिक्षाका लागि पठनपाठन र अतिरिक्त क्रियाकलाप भइरहेको अभिभावकले बताएका छन्। विद्यालयले सबै क्षेत्रमा प्रगति गरिरहेको र थप प्रगति गर्न शिक्षक, अभिभावक र विद्यार्थीले एकजुट भएर मेहनत गर्नुपर्ने अभिभावक भागिराम चौधरीले बताए। ‘उपमहानगरपालिकाले हाम्रो विद्यालयलाई नमुना घोषणा गरेको छ। शिक्षक र विद्यार्थीले मेहनत गरेका छन्। हामी अभिभावक पनि एकजुट भएर सहयोग गर्न तयार छौँ। हामी यो विद्यालयलाई उत्कृष्ट बनाउँछौँ,’ चौधरीले भने।
हडाबाबा माध्यमिक विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यममा निःशुल्क पठनपाठन भइरहेको छ। विद्यार्थीका लागि आवश्यक खेलमैदान, सामग्री, साना बालबालिकाका लागि प्लेस्टेसन, विद्यालय बगैँचा कार्यक्रमहरू र सरसफाइलाई प्राथमिकता राखिएको छ। विद्यार्थीको नियमित हाजिरीदेखि, नियमित रूपमा अभिभावक भेला,कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा र छात्रावासको समेत व्यवस्था गरेर विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने योजना विद्यालयले बनाएको प्रधानाध्यापक भोजराज शर्माले बताए। “विद्यालयमा शैक्षिक वातावरण निर्माण गर्ने योजना बनाएका छौँ। विद्यालयमा शिक्षक विद्यार्थी उपस्थिति ९५ प्रतिशत पुगाउने, अतिरिक्त कक्षा सञ्चालनदेखि अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको चौतर्फी विकास गर्न हामी लागिपरेका छौँ,’ उनले भने, ‘सबै तहको नतिजामा सुधार ल्याएर विद्यालयलाई उत्कृष्ट बनाउन सबैको सक्दो सहयोग आवश्यक छ।’
उपमहानगरपालिकाले बेहडाबाबा माध्यमिक विद्यालयमा फुटबल खेलको विकास गर्न नगुणस्तरीय फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ। हरेक वडामा माध्यमिक तहको कम्तीमा एक विद्यालयलाई नमुना घोषणा गरेर शैक्षिक विकासलाई गति दिने नीति उपमहानगरले लिएको छ। विद्यालयको चौतर्फी विकासका लागि उपमहानगरले सक्दो सहयोग गर्ने र शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्त्वपूर्ण हुने उप–प्रमुख कन्दकलाकुमारी रानाले बताइन्। ‘सिङ्गो नगरपालिकाको टिम शिक्षामा व्यापक सुधार गर्न लागिपरेको छ। आइसिटीको जडानदेखि शिक्षक तालिम र भौतिक पूर्वाधार थपेर सामुदायिक विद्यालयको गुणस्तर र क्षमता बढाउने काम भएको छ। शिक्षाको क्षेत्रमा काम भइरहेको छ,’ उप–प्रमुख रानाले भनिन्।
२०७९ को कक्षा ८ को वार्षिक परीक्षामा बेहडाबाबाबाट जम्मा पहिलो चरणमा ७५ जनामा जम्मा एक जना विद्यार्थी मात्रै पास भएका थिए। २०८० मा भने सामुदायिक विद्यालयतर्फ सबैभन्दा बाढी विद्यार्थी उत्तीर्ण बेहडाबाबा माध्यमिक विद्यालयबाट भएका छन्। सबै कक्षा र तहको सिकाइ उपलब्धिमा अब्बल नतिजा ल्याउन विद्यालयलाई सबै किसिमको सहयोग गर्ने उद्घोष अभिभावकहरूले गरेका छन्।