स्थानीयले निर्माण कम्पनीका गाडी रोकपछि मोहनापुल–बोराडाँडी खण्डको काम ठप्प
धनगढीमा सवारी चालकले असभ्य भाषाको प्रयोग गरेको भन्दै मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण कम्पनीका गाडी रोकिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पहिलो नम्बरको ठेक्का अर्थात मोहनापुलदेखि बोराडाँडी सम्मको ठेक्का पाएको नागाअर्जुन निर्माण सेवा प्रालिका सवारी चालक तेजबहादुर देउवा र एक जना सह–चालकले स्थानीयसंग असभ्य भाषाको प्रयोग गरि गाली–गलौज गरेको भन्दै गाडी रोकिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ एकता टोलका स्थानीयले आज गाडी रोकेपछि पहिलो प्याकेजमा ६ लेन सडकको निर्माण ठप्प भएको छ।
गत आईतबार बिहान कम्पनीको गाडीले द्रुत गतिमा लगिएपछि एक जना स्थानीयले बिस्तारै चलाउन आग्रह गरेका थिए। गाडी बिस्तारै चलाउन भनेपछि असभ्य भाषाको प्रयोग गर्दै चालकले गाली–गलौज गरेको स्थानीयले बताएका छन्।
पूर्व टोल विकास समितिका अध्यक्ष समेत रहेका स्थानीय जनकराज अवस्थीले निर्माण कम्पनीका कर्मचारीहरु असभ्य भएकाले गाडी रोकिएको बताए। स्थानीय र निर्माण कम्नपीका कर्मचारी बिच आईतबार साझ सामान्य भनाभन पनि भएको थियो। सो क्रममा निर्माण कम्पनीको गाडीको सिसा समेत फुटेको छ।
निर्माण कम्पनीको क्याम्पका ईञ्चार्ज लवराज पाण्डेले स्थानीयले विभिन्न बहाना बनाएर दुःख मात्र दिने काम गर्दै आएको प्रतिकृया दिए। नागार्जुन निर्माण कम्पनीका २५ जना कर्मचारी क्याम्पमा बस्दै आएका छन्।




