सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नुन र पिउने पानीमै कालोबजारी! खै नियमनकारी निकाय?

२०८१ जेठ ९, १०:१२ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा नुन र पिउने पानीमा समेत कालोबजारी भइरहेको उपभोक्ताले गुनासो गरेका छन्। नुन र पानीमा उपभोक्ताबाट अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम असुल भइरहेको हो।

साल्टट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले वितरण गर्ने पाकेटको नुन तथा पानीको बोतलमा उपभोक्तालाई ठग्ने काम हुँदै आएको छ। उपभोक्तालाई नुनमा प्रति किलोग्राम ५ रुपैयाँ र पानीको बोतलमा ५ रुपैयाँदेखि सतप्रतिसत बढी मूल्य असुल भइरहेको धनगढीका लक्ष्मण पन्तको गुनासो छ। ‘बजारमा लामो समयदेखि नुन र पानीमा कालोबजारी भइरहेको छ। तर कसैको ध्यान गएको छैन।

नुनमा अधिकतम खुद्रा मूल्यभन्दा ५ रुपैयाँ बढी र पानीमा २० रुपैयाँसम्म बढी लिने गरिएको छ, ‘पन्तले भने। पाकेटको नुनमा प्रतिकिलोग्राममा पाँच रुपैयाँ तथा पानीको बोतमा अधिकतम खुद्रा मूल्यको दोब्बरसम्म ठगी भइरहेको छ। नुन र पानीमा उपभोक्ता ठग्ने काम भइरहेको तर, स्थानीय सरकार तथा जिल्ला प्रशासनले बजार अनुगमन गरेर ठगी रोक्न नसकेको  कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का स्थानीय दिपेन्द्र कार्कीले गुनासो गरेका छन्।

‘धनगढी महेन्द्रनगर लगायतका बजारमा मात्रै नभएर सुदूरपश्चिमका हरेक बजार र पसलमा नुन र पानीमा अधिकतम खुद्रा मूल्यभन्दा बढी पैसा लिने गरिएको छ’, उनले भने, ‘नुनमा बढी पैसा असुल्न साल्टट्रेडिङले नै सहज बनाए जस्तो देखिन्छ भने पानीमा सतप्रतिशत नाफा खाएर उपभोक्तालाई ठग्ने काम भइरहेको छ।’

कानूनअनुसार अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम लिएर कुनै बस्तु बिक्री गर्न मिल्दैन। तर धनगढी, महेन्द्रनगर लगायत मुख्य बजारम क्षेत्रमै अधिकतम खुद्रा मूल्यभन्दा बढी लिएर नुन र पानीको बोतल बिक्री हुने गरेको छ। अधिकतम बिक्री मूल्यभन्दा बढी रकम लिनु गलत भएको र बढी मूल्य लिएको रसिद सहित उपभोक्ताले बिक्रेता विरुद्ध उजुरी दिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रदेश सचिव भोजराज जोशीले बताए।

उनले अधिकतम खुद्रा मूल्यभन्दा बढी लिन नपाइने र लिएको अवस्थामा रसिदसहित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उपभोक्ताले उजुरी दिए कानूनअनुसार बिक्रेतालाई कारबाही हुने बताए। साल्टट्रेडिङ कर्पोरेसनले नुनको आपूर्ति र वितरणको एकाधिकार पाएको छ। साल्टट्रेडिङले व्यावसायिलाई साढे १८ रुपैयाँमा नुन दिने गर्छ।

व्यावसायिले ढेड रुपैयाँ मात्रै मुनाफा लिन पाउँछन्। तर सुदूरपश्चिममा भने नुनमा प्रतिकिलोग्राम ५ रुपैयाँ र पानीको बोतलमा अधिकतम खुद्रा मूल्यभन्दा ५ देखि १० रुपैयाँ बढी लिने गरिएको छ। नुनमा अधिकतम खुद्रा मूल्यमै डेढ रुपैयाँ मुनाफा दिइएकाले थप ५ रुपैयाँ उपभोक्ताबाट लिन नपाइने साल्टट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख बासुदेव उपाध्यायले बताए। उनले बजार अनुगमन गरेर बढी मूल्य लिने कुरा रोकिने बताए।

उपभोक्तामाथि खुलेआम नुन र पानीमा ठगी हुँदा पनि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र बजार अनुगम समितिबाट अनुगमन र नियन्त्रण हुन नसकेको उपभोक्ताको गुनासो छ। बजार अनुगमन गर्दा तथा कसैको उजुरी आएमा बढी मूल्य लिनेलाई कारबाही गरिने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख सुरेसप्रसाद जैसीले बताए। ‘अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम लिएर बस्तु बिक्री गर्न मिल्दैन। यसरी बिक्री गरेको भेटिए कारबाही हुन्छ’, जैसीले भने।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस