सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरियामा देखिन थाले अलपत्र महिला र पुरुष

२०८१ जेठ ८, ०६:३८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र अत्तरियामा अलपत्र परेका महिला र पुरुषहरु देखिन थालेका छन्।

धनगढीको बसपार्कबाट मात्र हिजो (सोमबार) एक अलपत्र महिलाको उद्दार गरिएको छ। नेपाल स्वतन्त्र यातायात मजदुर संगठनले २० दिनदेखि धनगढी बसपार्क क्षेत्रमा अलपत्र महिलाको प्रहरीको सहयोगमा उद्दार गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएको छ। पहिचान नखुलेकी ती महिला मानसिक अवस्था ठीक नभएको अवस्थामा फेला परेकी थिइन्।

केही समय अघि मात्र अत्तरियामा एक अर्की महिला पनि यसैगरी अलपत्र अवस्थामा फेला परेकी थिइन्। गोदावरी नगरपालिका–४ स्थित बास्कोटा जंगलको किनारमा सानो छोरी सहित बाजुराको बाँधु गाविस–३ स्थायी घर भएकी सरिता सार्की फेला परेकी थिइन्। मुगुको श्रीकोट गाविस–८ मा जन्मेकी उनलाई स्थानीयले फेला पारेर उद्दार गरेका थिए।

अत्तरियाबाटै बैतडीको पाटन घर बताउँने अनिता लुहारको उद्धार गरेर युवाहरुले दृष्टि फाउण्डेसनको जिम्मा लगाएका थिए। गत माघमा धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले बालकसहितकी महिलाको उद्धार गरेको थियो। धनगढी उपमहानगरपालिका–५ बाट उनको उद्धार गरिएको थियो। नगर ३५ वर्षीया महिलाको मानसिक अवस्था ठिक नरहेको भन्दै स्थानीयले नगर प्रहरीलाई खबर गरेका थिए।

उनको उद्धार गरेर दृष्टि फाउन्डेनको जिम्मा लगाइएको थियो। यी घटना त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय बजार तथा सडक किनारमा यसैगरी अलपत्र फेला पर्नेको संख्या बढ्न थालेको छ। परिवारबाट धमाइएका तथा गरिबीका कारण सडकमा देखा पर्ने महिलासँगै पुरुषको संख्या पनि बढ्न थालेको छ।

सडकमा अलपत्र परेकाहरुको स्थानीय र केही युवाहरुको समुहले उद्दार गरेर विभिन्न संघसंस्थाको जिम्मा लगाउने गरेका छन्। अधिकांश पुरुष बुढेस काल लागेको अवस्थामा सडकमा अलपत्र अवस्थामा फेला पर्ने गरेका छन्। कतिपय महिला भने कमै उमेरका तर बच्चासहित मानसिक अवस्था ठिक नभएको अवस्थामा फेला पर्ने गरेका छन्। सडकमा अलपत्र परेकाहरुको उद्दारका लागि विभिन्न संघसंस्था खुलेको भए पनि यस्तो समस्या अझै हल हुन सकेको छैन्।

कमेन्ट लोड गर्नुस