कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय निर्माण
धनगढीः कोरियन नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर–१ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको छ।
बालबालिकाका लागि शौचालयको समस्या देखेपछि टीकापुर अस्पतालमा कोइका (कोरियन सरकारको सहयोगमा) को कार्यक्रम व्यवस्थापक तथा आरसीआइका नेपालका प्रतिनिधि पार्क क्वाङ होले, छेदानको सहयोगमा शौचालय निर्माण गरेका हुन्।
विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा छात्राका लागि सुविधा सम्पन्न पाँच कोठे शौचालय निर्माण गरिएको छ भने पुरानो शौचालयसमेत मर्मत गरिएको छ। छ लाख लागतमा शौचालय निर्माण गरिएको विद्यालयले जनाएको छ।
छेदानले शौचालय उद्घाटनसँगै विद्यालयमा बालबालिकालाई खेल गतिविधिका लागि दुई थान फुटबल, दुई थान भलिबल, स्पीकिङ, हावा भर्ने पम्पसमेत सहयोग गरेका छन्। विद्यालय तथा बस्तीमा गरिबी देखेपछि यहाँका बालबालिकालाई सजिलो होस् भनेर सहयोग गरेको उनले बताए। “यहाँ पढ्ने बालबालिका विपन्न समुदायका देखेँ, सधैँ यही बाटो साइकलमा हिँड्छु”, छेदानले भने, “विगतमा म पनि यस्तै विद्यालयमा पढेको थिएँ। यहाँको स्वास्थ्य र सरसफाइमा सहयोग पुगोस् भनी शौचालय बनाइदिएको हुँ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीले कोरियन नागरिक भएर पनि ठूलो सहयोग गरेको बताउँदै विद्यालयको अवस्था दयनीय भएकाले सघाउन पालिकालाई अनुरोध गरे। उनका अनुसार विभिन्न दाताको सहयोगमा विद्यालयमा टिनका छानासहितका भवन निर्माण गरिएका छन्।