सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री दाहालले चौथो पटक पनि पाए विश्वासको मत

२०८१ जेठ ७, ०२:३८ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन्।

तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन्। सोमबार प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पाए। त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए।

सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए। प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन्। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ।

जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिएका थिए। तेस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा १५७ सांसद थिए।

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो। एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए। त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले दाहाललाई विश्वासको मत दिएको थियो।

दाहालले राखेको पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ ले पक्षमा मत दिएका थिए। दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए।

कमेन्ट लोड गर्नुस