सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रास्वपाले छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने

२०८१ जेठ ६, ०७:११ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ। अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिवार बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निर्णय गरेको हो।

पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन, सुदूरपश्चिममा व्याप्त छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने लगायतका निर्णय गरिएको बताए।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्याप्त छाउपडी कुप्रथाविरुद्ध सचेतनामूलक अभियान चलाउने र उक्त अभियान पार्टी सदस्य स्वयंको परिवारबाट सुरु गर्ने निर्णय गरिएको प्रदेश महामन्त्री पारस बाहुनले बताए। उनकाअनुसार पार्टीमा आबद्ध नेता, कार्यकर्ताले छाउपडी कुप्रथा अवलम्बन गरेको तथा परिवारका सदस्यलाई छाउपडी अवलम्बन गर्न दबाब दिएको पाइएमा कारवाही गरिनेछ।

यस्तै, बैठकले पार्टीको परिमार्जितले विधानले सुदूरपश्चिम प्रदेशमा संगठन गठनमा समस्या देखिएको भन्दै प्रवक्ता सन्तोशराज जोशीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन, पार्टीका नेता, कार्यकर्ताको अनुशासन र आचरणका लागि रामारोशन आचारसंहिता बनाउँदै पारित समेत गरेको प्रदेश सदस्य हेमन्तनारायण जोशीले जानकारी दिए।

बैठकलाई सम्बोधन गर्दै प्रदेश सभापति विष्टले एकताबद्ध भएर सुदूरपश्चिम प्रदेशमा पार्टी संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन्। उनले अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरण जबरजस्ती विवादित बनाउन खोजिएकाले निराश नहुन आग्रह पनि गरेका छन्। लामिछाने स्वयंमले समेत यो विषयमा आम जनतालाई प्रष्ट पार्न आवश्यक रहेको बताए।

पार्टीले सरकारमा रहेर सन्तोशजनक काम गरेको बताउँदै उनले जनताको अपेक्षा ठूलो भएकाले सोहीअनुसारका काम गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
 

कमेन्ट लोड गर्नुस