सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कक्षा ६ मुनिका विद्यार्थीको क्रिकेट प्रतियोगिता हुने

२०८१ जेठ ६, ०६:०८

धनगढी : कैलालीको धनगढीमा कक्षा ६ मुनिका विद्यार्थीको क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपालमै पहिलो पटक सिटी अफ क्रिकेट धनगढीमा अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता हुने भएको हो। धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने छ।

जेठ ६ गतेदेखी ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। उप–विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने शनिवार धनगढी क्रिकेट एकेडेमीको खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ।

कैलालीका १५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकलसहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति, उत्कृष्ट बलरले जुत्ता, उत्कृष्ट व्याटरले ब्याट सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति प्राप्त गर्ने र उदयमान खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति एवं ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक डी.सी.ए. का म्यानेजर समुयल न्यौपानेले बताए।

न्यौपानेका अनुसार प्रतियोगितामा १०÷१० ओभरको खेल खेलाइनेछ। प्रत्येक टिमले दुई वटा म्याच खेल्न पाउने छन्। विजयी टिमहरूले प्राप्त गर्ने अङ्क अनुसार प्रथम चार टिम सेमी–फाइनलमा प्रवेश गर्ने छन्। सबै खेलाडी एउटै किसिमको रङ्गिन जर्सीको साथमा आउनुपर्नेछ । प्रतियोगितामा ग्रिन टेनिस बलको प्रयोग हुने छ। प्रतियोगितामा एल.बि.डब्ल्यु बाहेक आई.सी.सी. को सबै नियम लागु हुनेछ। अम्पायरको निर्णय सबैलाई मान्य हुनेछ । खेलमा विवाद आए आयोजकको निर्णय अन्तिम निर्णय हुनेछ।

यस्तै, प्रत्येक टीममा १४ खेलाडी र २ अफिसियल हुनु पर्नेछ । खेलको समयमा कुनै चोटपटक लागेमा आयोजकले प्राथमिक उपचार मात्र गर्नेछ। बाहिरबाट आएको टिमले खान बस्नको व्यवस्था स्वयं गर्नुपर्ने छ। भने प्रतियोगितामा सहभागी विद्यालयहरूले अन्य विद्यालयको अथवा आफ्नै विद्यालयको पनि कक्षा ६ भन्दा माथिको विद्यार्थी राखेमा अथवा राखेको प्रमाणित भएमा उक्त विद्यालयलाई दुई वर्ष सम्म धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने कुनै पनि विद्यालय स्तरीय प्रतियोताहरु मा सहभागिता रोक लगाइने र प्रवेश शुल्कको दोब्बर जरिमाना तिर्नुपर्ने आयोजकले जनाएको छ।

धनगढी क्रिकेट एकेडेमी आयोजक रहेको उक्त प्रतियोगितामा ब्राईटवे पब्लिक स्कुल टाइटल स्पन्सर रहेको छ भने सुदूर पश्चिमाञ्चल कलेज, कैलाली जिल्ला क्रिकेट संघ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, चौलानी सुरुवात नयाँ सोचको, ग्रिन क्लिन धनगढी, ब्रेड बक्स, सिपी हस्पिटल र वल्डलिङ्कको साथ रहेको छ ।

यस्तै, वाल्मीकि ईन्टरनेस्नल स्कुलको क्रिकेट टिमको प्रतिनिधित्व गरिरहेका कक्षा ५ मा अध्ययनरत खेलाडी सिरिस भण्डारीले पहिले आफ्नो उमेर समूहको व्यक्तिहरूले टुरनामेन्ट खेल्न नपाउने भए पनि यस पटक बाट आफूहरूले पनि टुरनामेन्ट खेल्ने अवसर पाउँदा निकै खुसी लागेको बताउँदै ट्रफी जित्ने कोसिस गर्ने उनको भनाई छ ।

धनगढी सिटी अफ क्रिकेटमा क्रिकेट सम्बन्धी भइरहेका यस्ता खेलहरूले स–साना नानी बाबुहरू लाई क्रिकेटमा पनि भविष्य छ भनेर प्रेरणा मिल्ने र पछिल्लो समय नेपालमा क्रिकेट प्रति बढ्दै गइरहेको क्रेजलाई आत्मसाथ गर्दै गइरहेका नेपाली क्रिकेट टिमका भोलिका भविष्यहरू लाई यो ग्रास रुट लेबलको क्रिकेट प्रतियोगिता निकै नै लाभदायक बन्ने सी.सी.एस. क्रिकेट टिमका म्यानेजर गोकर्ण जोशीले विश्वास व्यक्त गरे।

 

कमेन्ट लोड गर्नुस