सुदूर नेपाललाई विश्वसँग जोड्दै

नापी कार्यालय धनगढीमा लेखापढी गर्नेबाट सिधै कर्मचारीलाई १५ हजार घुस!

२०८१ जेठ ४, ०६:५० नारायण अवस्थी

धनगढीः नापी कार्यालय धनगढीमा सेवाग्राहीबाट लिएको घुस लेखापढी व्यवसायी हुँदै कर्मचारीको हातमा पुग्ने गरेको तथ्य बाहिर आएको छ।

नापी कार्यालय धनगढीमा सेवाग्राहीबाट घुस लिएर मात्र कर्मचारीले काम गर्ने गरेको विषय बाहिर आएको हो। बिचौलियाको काम गर्न लेखापढी गर्नेहरु नै सक्रिय भएपछि कर्मचारीले घुस लिएर मात्र काम गर्दै आएको खुलेको हो। कित्ताकाट तथा हालसाबिक गर्न आएका सेवाग्राहीबाट नापीका कर्मचारीले घुस खाने गरेका छन्। शुक्रवार कित्ताकाट तथा जग्गा घटीबढी मिलान गर्न आएका घोडाघोडीका सेवाग्राहीबाट नापी कार्यालयका कर्मचारीले घुस वाफतको रकम असुलेका हुन्।

साबिकको दरख गाविस हेर्ने अमिनले बिचौलिया प्रयोग गरेर रकम असुली गरेको तथ्य सार्वजनिक भएको छ। शुक्रवार नापी कार्यालय धनगढीका अमिनले घोडाघोडी नगरपालिका–१ कैलाशपुरका सेवाग्राही सर्पन विश्वकर्मा, धर्म विक र नन्दकला विकबाट घुस खाएका हुन्। नापी कार्यालयको कोठा नम्बर ११४ मा साबिकको दरख गाविस हेर्ने अमिनले सेवाग्राहीबाट कित्ताकाट तथा जग्गा घटीबढी मिलाइदिने भन्दै १५ हजार घुस मागेका छन्।

लालपुर्जा र फिल्डमा देखिएको जग्गा फरक परेकाले घटीबढी मिलाउने भन्दै अमिनले घुस मागेको सेवाग्राही सर्पन विश्वकर्माले बताए। ‘लालपुर्जामा ८ कट्ठा जग्गा थियो तर फिल्डमा ७ कट्ठा ७ धुर देखियो। त्यसपछि कित्ताकाट गर्दा घटीबढी मिलाउने भन्दै अमिनले १५ हजार मागेका हुन्’, विश्वकर्माले भने। सर्पन, धर्म र नन्दकला विश्वकर्माले घोडाघोडीकै धनिराम डगौराबाट जग्गा खरिद गरेका हुन्।

लालपुर्जामा ८ कट्ठा जग्गा देखिए पनि फिल्डमा ७ कट्ठा ७ धुर मात्रै देखा परेपछि घटीबढी मिलाइदिने भन्दै अमिनले पैसा मागेको विश्वकर्माको गुनासो छ। मालपोत र नापी कार्यालयमा लेखापढी गर्दै आएका व्यक्तिलाई अमिनले १५ हजार दिन भनेको तर पैसा कम हुँदा १३ हजार दिएको विश्वकर्माले बताए। ‘अमिनले नापी अधिकृतलाई सोधेर १५ हजार बिचौलिया मार्फत मागेका हुन्। फेरि एक हजार थप मागेका छन्। पैसा दिएपछि कित्ताकाटको काम भएको हो’, विश्वकर्माले दिनेशखबरसँग भने।

सेवाग्राहीबाट घुस उठाउने बिचौलियाको काम गर्ने ती लेखापढी व्यवसायीले अमिन र नापी अधिकृतलाई सोधेर पैसा मागेको विश्वकर्माको तर्क छ। कोठा नम्बर ११४ मा दरख हेर्ने अमिनको नाम भने अक्षय कठरिया र ईश्वर चौधरी रहेको खुलेको छ। ती दुई जनामध्ये एक जनाले आफूसँग १५ हजार मागेको विश्वकर्माले गुनासो गरेका हुन्। तर अमिन अक्षय कठरियाले भने आफूले कुनै पनि सेवाग्राहीबाट पैसा नमागेको दाबी गरेका छन्।

‘हामी दुई जना अमिन छौँ दरख हेर्ने, कुनै मिसिल मैले हेर्छु, कुनै उहाँले हेर्नुहुन्छ’, कठरियाले भने, ‘मैले कसैसँग पनि पैसा मागेको छैन।’ विश्वकर्माले बिचौलिया लेखापढी व्यवसायीलाई पैसा दिएको भिडियो उपलब्ध गराएका छन्। प्राप्त भिडियोमा नापी कार्यालयमा विश्वकर्माले हजारका १३ वटा नोट बिचौलियाले लिएको देखिएको छ। सेवाग्राहीबाट घुस लिएको विषयमा बुझ्दा अर्का अमिन ईश्वर चौधरीले आफूले पैसा मागेको कुरा थाहा नभएको भन्दै फोन काटेका छन्।

नापी कार्यालय धनगढीमा जग्गा सम्बन्धी कामका लागि पुग्ने सेवाग्राहीबाट विभिन्न बाहनामा कर्मचारीले पैसा असुल्ने काम अझै रोकिएको छैन। विश्वकर्माको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालयबाट खटिएको प्रहरी टोलीले भने बिचौलियाको काम गरेको भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ। नापी कार्यालय धनगढीका प्रमुख नापी अधिकृत जनकराज भट्टले भने कर्मचारीले घुस लिएको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस