सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम माओवादीमा अब दलको नेताभन्दा खगराज माथिल्लो मर्यादामा

२०८१ जेठ ४, ०१:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम माओवादीमा अब संसदीय दलको नेताभन्दा खगराज भट्ट माथिल्लो मर्यादामा पुगेका छन्।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सभा सदस्य खगराज भट्टलाई माथिल्लो मर्यादामा राख्ने निर्णय गरेको हो। यसअघि माओवादी केन्द्रले भट्टलाई संसदीय दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानवहादुर धामीलाई दलको नेता चयन गरेको थियो। त्यसपछि रुष्ट बनेका भट्टलाई हिजो (विहिबार बसेको माओवादी संसदीय दलको बैठकले माथिल्लो मर्यादामा राख्ने निर्णय गरेको हो।

उनको उच्च सम्मानसहित दलको नेताभन्दा माथिल्लो मर्यादामा राख्ने निर्णय भएको प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले बताए। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरे पनि सरकार विस्तार भने भएको छैन्।
५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन्।

पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका हुन्। विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए। तत्काल सरकार विस्तार हुनुपर्नेमा मन्त्रालयको विषयमा टुंगो नलाग्दा थोरै जटिला उत्पन्न भएको प्रदेश सभा सदस्य साउँदले बताए। ‘एक दुई दिनभित्रै सबै मन्त्रालयको टुंगो लागिसक्ने विश्वास गरेका छौँ।’

नेकपा एमालेले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागि भएको छैन्। त्यस्तै सात सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जना विपक्ष र दुई सांसदले मात्र विश्वासको मत दिएका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरी र टीका थापा सत्ता पक्षमा छन्। दुवै मन्त्री छन्।

रेशम पक्षधर सांसदहरू घनश्याम चौधरी, खुसीराम डगौरा थारू, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरी विपक्षी छन्। वैशाख ६ गते नियुक्त मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१, २२ र बिहीबार बिहानकै बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए। पहिला दुईवटै बैठकमा विश्वासको मत दिन एमाले तयार भएको थिएन।

एमाले संसदीय दलले बुधबार सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय गरेपछि उनले विश्वासको मत पाउने वातावरण बनेको थियो। यस्तै, सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादीको बिहीबार बसेको संसदीय दलको बैठकले खगराज भट्टलाई दलको नेता मानबहादुर धामीभन्दा माथिल्लो मर्यादामा राख्ने निर्णय गरेपछि उनी संसदीय दलको बैठकमा उपस्थित भएका थिए।

कमेन्ट लोड गर्नुस