सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा जंगल आगलागीबाट २३ लाख बढी मूल्यको सम्पत्तिमा नोक्सानी

२०८१ जेठ २, ०६:४७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा जंगल आगलागीबाट २३ लाख ६० हजार मूल्यको सम्पत्ति नोक्सानी पुगेको अनुमान छ। यो करिब एक महिनाको अवधिमा जंगल आगलागीबाट भएको नोक्सानीको विवरण मात्र हो।

२०८० चैत अन्तिम सातादेखि २०८१ को हालसम्म जंगल आगलागीका २९ घटनाको विवरण प्राप्त भएको छ। ती आगलागीका घटनामा परेर बैतडीमा तीन महिला घाइते समेत भएका छन्। जंगल आगलागीका घटना प्रदेशका नौवटै जिल्लामा घटेका छन्। जंगलमा लागेको डढेलोका कारण १८ घरपरिवार प्रभावित बन्न पुगेका छन्।

जंगलमा लागेको डढेलोले ४ पूर्ण र ६ घरमा आंशिक क्षेत्र समेत पुगेको छ। जंलगबाट सल्केको आगो वस्तीसम्मै पुग्दा ६ गोठ जलेर नष्ट हुनुका साथै गोठभित्र रहेका ६ पशुचौपायामा क्षति पुगेको छ। जंगल आगलागीबाट वनस्पती र वन्यजन्तुमा ठूलो नोक्सानी पुगेको अनुमान गरिएको छ। जंगलमा हुर्किदै गरेका बोटविरुवा जलेर नष्ट भएका छन्।

२९ जंगल आगलागीका घटनाबाट २३ लाख ६० हजार मुल्यको नोक्सानी भएको अनुमान सुदूरपश्चिम प्रदेशको आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीको अनुमान छ। उसो त प्रदेशभित्र दुई सय २५ आगलागीका घटना घटेका छन्। ती घटनाबाट पाँच करोड ९० लाख ९ हजार ७ सय मुल्यको व्यक्तिको धनसम्पत्ति जलेर खरानी भएको अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस