सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले टोल–टोलमा कमिसनका योजना बाड्यो: मेयर वड

२०७६ जेठ १३, ०३:१४ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले सुदूरपश्चिम प्रदेश सरकारले टोल–टोलमा कमिसनका योजना बाडेको आरोप लगाएका छन्। प्रेस युनियनको २८ औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मेयर वडले सो कुरा बताएका हुन्। प्रदेश सरकारले आर्थिक बर्षको अन्त्यमा आएर धनगढी उप–महानगरकै वडा–वडामा समेत कमिसनका योजना बाडेको बताए। उनले २० लाखका योजना दिएर ५ लाखको काम गर्दै बाँकी रकम कमिसन खाने गरि योजना वितरण गरिएको बताए। उनले स्थानीय तहसंग कुनै समन्वय विना नै योजना वितरण गर्दा अहिले कार्यान्वयनमा पनि समस्या आईरहेको बताए। मेयर वडले प्रदेश सरकारले आर्थिक बर्षको २ महिना मात्रै बाँकी रहेको अवस्थामा बजेटको अख्तियारी दिएपछि बजेट खर्च गर्न समस्या समेत भईरहेको बताए। 

बर्षका १० महिना ढुक्क बसेको प्रदेश सरकारले समय घर्किने बेला बजेटको अख्तियारी दिए पछि खर्च हुनेमा भने आशंका बढेको उनले बताए। प्रदेश सरकारले सुदूरपश्चिमका ८८ तहमध्ये ६४ वटालाई समपूरक अनुदानतर्फ ३८ करोड १३ लाख र विशेष अनुदानतर्फ २६ करोड १८ लाखको अख्तियारी वैशाखमा दिएको थियोे। यस्तै प्रदेशको मन्त्रीपरिषद्को बैठकबाटै आर्थिक बर्षको अन्त्यतिर झण्डै साढे चार सय योजना छनौट गरि कार्यान्वयनको चरणमा समेत लगिएको छ। 
 

कमेन्ट लोड गर्नुस