सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सिँचाइका लागि जनश्रमदानमा जुटे किसान

२०८१ जेठ १, ०३:०१ रासस

कैलालीः गहुँ बाली भित्र्याएसँगै किसान बर्खे धान बालीको तयारीमा जुटेका छन्।

धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसान जुटेका हुन। यतिबेला रानी–जमरा–कुलरिया सिँचाइ आयोजना कुलोका किसानको खेतसम्म पुग्ने सिँचाइ कुलोको मर्मतसम्भारमा किसानहरूले जनश्रमदान गर्दै आएका छन। केही दिनदेखि टीकापुरका विश्राम चौधरी पनि कुलो मर्मतसम्भारका लागि जनश्रमदानमा व्यस्त छन्। गाउँका अन्य किसानसँगै जमरा कुलोको पानी खेतसम्म पुगाउन सिँचाइ कुलो मर्मतसम्भारमा लागिएको उनले बताए।

बर्सेनि बर्खा सुरु हुनुभन्दा पहिले गाउँका सबै किसानको सहभागितामा आफ्नो क्षेत्रको कुलो मर्मतसम्भार गरेर खेत सिँचाइका लागि पानी ल्याउने चलन छ, विश्रामले भने गाउँको बडघरको नेतृत्वमा सबैको उपस्थिति हुने हुँदा काम छिटोछरितो र रमाइलोसँगै काम पनि हुन्छ, यो एउटा हाम्रो परम्परा जस्तो पनि बनिसकेको छ। जनश्रमदानमा सहभागी हुन नसक्ने किसानले जरिवाना तिर्नुपर्ने चलन गाउँमा रहँदै आएको उनले बताए। 

राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले यसअघि नै मुख्य कुलोमा पानी छाडिसकेको छ। मुख्य कुलोबाट किसानको खेतसम्म पुग्ने सिँचाइ कुलो मर्मतसम्भार गरेर किसान धानको ब्याड राख्ने तयारीमा रहेको कृषक मोतिलाल चौधरीले बताए।

कुनै समय कैलालीका किसान सिँचाइका लागि महिनौँ कर्णाली नदीको मुहानमै बसेर काम गर्दै आएको इतिहास धेरै भएको छैन। पूर्वी कैलालीका अधिकांश स्थानीय सिँचाइका लागि कुलोमा पानी ल्याउनकै लागि कर्णाली नदीमा महिना दिन बिताउने गर्थे। त्यो बेला रानी–जमरा–कुलरिया कुलोमा पानी ल्याउन हजारौं किसान दिनरात कर्णाली नदीमा बस्ने गर्थे।

त्यो बेला हरेक घरबाट एकजना सिँचाइका लागि पानीको मुहान फर्काउन अनिवार्य थियो, हजारौँको सहभागितामा कर्णालीको पानी सिँचाइका लागि ल्याइन्थ्यो, स्थानीय बन्धु चौधरी भन्छन्, त्यो बेलाको स्थिति हेर्दा अहिले किसानलाई दुःख नै छैन, प्रविधिको प्रयोग र राष्ट्रिय गौरवको आयोजनाले किसानलाई धेरै सहज बनाएको छ। रानी–जमरा–कुलरिया सिँचाइ आयोजना सुरु भएपछि सिँचाइका लागि किसानलाई कर्णाली नदीसम्म पुग्नुपर्ने बाध्यता हटेको छ।

मुख्य कुलोबाटै काम गर्नुपर्ने बाध्यतामा रहेका किसान आयोजना सुरु भएपछि मुख्य कुलोको सहायक कुलोबाट सिँचाइ कुलो मात्रै किसानले मर्मतसम्भार गर्नुपर्छ। त्यतिमात्र नभई किसानलाई आवश्यक मात्राको पानी कुलोमा ल्याउन मिल्ने भएपछि कुलो समितिले मात्राअनुसार पानी छाड्ने गरेको छ। बढी भएको पानी कर्णाली नदीमा फर्काउने व्यवस्था मिलाइएको छ।

रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको ७२ प्रतिशत काम सम्पन्न भएको छ। आयोजनाले काम सम्पन्न गरेपछि किसानले बाहै् महिना सिँचाइ सुविधा पाउनेछन। आयोजनाका सूचना अधिकारी नवीन पौडेलका अनुसार जमरा कुलोको काम अन्तिम चरणमा रहे पनि रानी कुलोको काम अहिले पनि ३० प्रतिशत सम्पन्न भएको छ।

कमेन्ट लोड गर्नुस