सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्टकपिचिङ कम्पिटिसन सम्पन्न

२०८१ जेठ १, ११:४१ खबर संवाददाता

धनगढीः धनगढीमा पहिलो पटक “स्टकपिचिङ” कम्पिटिसन भएको छ। सोमवार धनगढी स्थित  ग्यालेक्सी मल्टीपल कलेज र काठमाडौं विश्वविद्यालय  स्कूल अफ म्यानेजमन्ट अन्तर्गत गठित  कुसम फाइनान्स क्लबको आयोजनामा धनगढीको ग्यालेक्सी मल्टिपल कलेजका विद्यार्थीहरुबिच “स्टकपिचिङ” कम्पिटिसन आयोजना गरिएको हो।

काठमाडौं विश्वविद्यलय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुको समूह हो कुसम फाइनान्स क्लब। कुसुमले वित्तीय साक्षरता अभिवृद्धि, स्टक मार्केट, डेडिकेटेड मार्केट, प्राइभेट इक्विटी र लगानी  लगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

कुसम फाइनान्स क्लबका संयोजक प्रशान्त महर्जनले वित्तीय बजारको ज्ञान बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए। “स्टकपिचिङ” कम्पिटिसन काठमाण्डौँ उपत्यका भित्र मात्र सिमित थियो। यसलाई राष्ट्रिय स्तरको बनाउनुपर्छ, जसमा सहभागीहरुले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत स्टकहरु मध्ये कुन कम्पनी कसरी लगानी गर्न उपयुक्त छ भनेर आफ्नो विश्लेषणत्मक तर्क प्रदान गर्नुपर्ने हुन्छ, यो त्यही सिकाईको अवसर हो” उनले भने,“समग्र वित्त र व्यवसायको अवधारणा बुझाउने उदेश्यले यो कार्यक्रम धनगढीमा गरिएको हो।”

यस्तै,क्लबका सह–संयोजक सौरभ जोशीले युवाहरुमा स्टक सम्बन्धी तार्किक क्षमताको विकास गर्नु कार्यक्रमको मुख्य ध्येय रहेको बताए। “सहभागीहरुले वित्त क्षेत्र र खास गरी स्टक मार्केटमा भएका नीति नियमहरको सान्दर्भिकता र मार्केटको नियमन सम्बन्धी सुझाव प्रस्तुत गर्नुहुन्छ। जसले स्टक मार्केटलाई विकास गर्न सकिन्छ” उनले भने,“उपत्यका र बाहिरका विद्यार्थीहरुको बिचमा वित्तीय ज्ञानको ठूलो अन्तर छ। त्यसलाई पूर्ति गर्न सातै प्रदेशका प्रतिस्पर्धीहरुलाई प्रेरणा दिन कार्यक्रमको आयोजना गरिरहेका छौँ।“

ग्यालेक्सी मल्टिपल कलेजका अनुसन्धान व्यवस्थापक दिनेश पौडेलले कार्यक्रमबाट विद्यार्थीहरुलाई स्टक मार्केटमा लगानी गर्दा ध्यान दिनुपर्ने आधारभूत कुराहरु र विभिन्न चरणहरुलाई विश्लेषण गर्नेबारे सहभागीहरूलाई ज्ञान मिलेको बताए। “सानो रकम लगानी गरे पनि भविष्यमा राम्रो प्रतिफल प्राप्त हुँदो रहेछ भन्ने तथा लगानीको वातावरण कसरी निर्माण हुन्छ भन्ने ज्ञान विद्यार्थीहरूले हासिल गर्नुभएको छ,“ उनले भने, “अभिभावकबाट प्राप्त भएको स–सानो रकमलाई पनि बचत गरेर लगानीमा परिवर्तन गर्न यस कार्यक्रमले सघाउने छ।“

वित्तिय तथा डिजिटल साक्षरता बढाउन र स्टक मार्केटमा लगानीका विभिन्न आयामबारे जानकारी गराउनुका सथै बचत र लगानी जस्ता आर्थिक समृद्धिका आधारभूत तत्वहरुमा विद्यार्थीहरुको संलग्नता बढाउने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । जसमा प्रतियोगिताका विजेतालाई नगद पाँच हजार रुपैया सहित ट्रफी, र अन्य सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ।

स्टक मार्केटमा नयाँ प्रवेश गर्ने लगानीकर्ताहरुलाई कुन तरिकाले कम्पनी छनौट गर्ने भन्नेबारे आधारभूत ज्ञान हाँसिल गर्न कार्यक्रम एकदमै उपयोगी रहेको विजेता समूह ‘द स्टक आर्टिष्ट’ का सहभागी युवराज भट्टले बताए । उक्त समूहमा कैलाली बहुमुखी क्याम्पसका तर्फबाट सुरेश चुनारा, दिक्षित पन्त र सुशील बिष्ट समेत सहभागी रहेका थिए।

त्यस्तै नेपाल वेस्टर्न एकेडेमीका तर्फबाट ‘युनिक टिम’ फस्ट रनर अप हुन सफल भयो जसमा सुशील चौधरी, रेश्मा रावल, आयुशा खड्का र दिक्षाकुमारी साउँद सहभागी थिए। यसैगरी नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड ईन्जिनियरिङ कलेजका तर्फबाट ‘ट्रेडिङ टाइटन्स’ टीमले तेस्रो स्थान हाँसिल ग¥यो। जसमा शितल अवस्थी, दिक्षा उप्रेती, शैलेश जोशी, चन्द्राकुमारी जोशी, भावना भट्टराई र सुरेशराज जोशीको सहभागिता रहेको थियो।

यस्तै, ऐश्वर्य बहुमुखी क्याम्पसका तर्फबाट ‘द आइडिया पेर्नर’मा सुवेक्षा दहालको एकल सहभागिता रहेको थियो। कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका तर्फबाट वित्तीय र डिजिटल सक्षरता सम्बन्धी सत्र पनि सञ्चालन गरिएको थियो। धनगढीका चारओटा कलेजबाट १५ जना प्रतिस्पर्धीसहित उक्त कार्यक्रममा करिब ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस