एचआइभी सङ्क्रमितलाई मासिक भत्ता
कैलालीः कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ।
पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन एक हजारका दरले भत्ता वितरण गरेको हो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजतलास गरिएको जानकारी दिए।
उनका अनुसार खोजतलासका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित फेला परेका छन्। सङ्क्रमितमध्ये १५ पुरुष र १२ महिला रहेका छन्। गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उनीहरुलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए।
स्वास्थ्य शाखामार्फत सङ्क्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी छ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए।
पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ। साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताए।