सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरद्वारा बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा

२०८१ वैशाख २८, ०९:०३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले बैशाख महिनाको उत्कृष्ठ सामुदायिक विद्यालय घोषणा गरेको छ। बैशाख २८ गते शुक्रवारका दिन उत्कृष्ट विद्यालय घोषणा गरिएको हो।

उपमहानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण पश्चात् उत्कृष्ठ विद्यालय घोषणा गरिएको हो। कार्यक्रममा उमहानगरका कूल ६८ सामुदायिक विद्यालयमध्ये ३० वटा विद्यालय गरेको प्रस्तुतीरकणको मूल्याङ्कन गरिएको थियो।

विद्यालयको प्रस्तुतीकरणका आधारमा वडा नम्बर २ स्थित शारदा माध्यमिक विद्यालय, बैयाबेहडीलाई  बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा गरिएको हो। उक्त विद्यालयलाई नगर प्रमुख गोपाल हमालले नगद पन्ध्र हजार र सम्मान पत्र प्रदान गरेका छन्। धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने उद्देश्यले २०८० चैत्र ८ गते सामुदायिक विद्यालयहरुसँग कार्यसम्पादन सम्झौंता गरेको थियो।

सोही सम्झौंता बमोजिम विभिन्न ७२ वटा सूचकहरुको कार्यान्वयनको सन्दर्भमा भए गरेका मासिक कार्यहरुको मूल्याङ्कन गरेर हरेक महिना उत्कृष्ट विद्यालय छनोट गरिनेछ। सम्बन्धित विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको प्रस्तुतीकरणका आधारमा उत्कृष्ठ विद्यालय  छनोट गरिनेछ। बैशाख महिनामा उत्कृष्ट छनोट भएको शारदा माध्यमिक विद्यालय बैयाबेहडीका प्रधानाध्यापक तेजबहादुर सिंहले उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रमले सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि सकारात्मक प्रतिस्पर्धा गर्न प्रेरित गरेको बताए। उनले विद्यालयका असल अभ्यासहरु आदान प्रदान गर्न र विद्यालयलाई थप हौसला प्रदान गर्न उर्जा मिल्ने बताए।

धनगढी उपमहानगरले शिक्षामा एक पछि अर्को उत्कृष्ठ कार्यहरु गर्दै आएको र ती कार्यहरुले विद्यालय तथा शिक्षकहरूलाई काम गर्न प्रेरणा र उर्जा  पुगेको पञ्चोदय माध्यमिक विद्यालय हसनपुरका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। कार्यक्रममा नगर प्रमुख गोपाल हमालले विद्यालयको शैक्षिक सुधार शिक्षकबाटै सम्भव भएको र त्यो धनगढीका शिक्षकले प्रमाणित गरेर देखाउनुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस