सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, ९६ घण्टाभित्र भुक्तानी नभए सेवा ठप्प

२०८१ वैशाख २८, ०६:२६ खबर संवाददाता

धनगढीः बैतडी जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

चिकित्सक र स्वास्थ्यकर्मीहरू अतिरिक्त काम गरेको र जोखिम भत्ता नपाएको भन्दै आन्दोलित भएका हुन्। बैतडी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सार्वजनिक विदाको दिन काम गरेको, कार्यालय समयभन्दा बाहेक समयमा काम गरेको तथा जोखिमयुक्त काम गरेको अतिरिक्त पारिश्रमिक नपाएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट नदिँदा कर्मचारीहरूले नियमानुसार पाउनुपर्ने सुविधा नपाएको भन्दै आन्दोलित हुनु परेको बताएका छन्। अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले बुधवार विज्ञप्ति निकाल्दै सार्वजनिक विदामा काम गरे बापतको रकम र जोखिम भत्ता नपाए अस्पतालबाट प्रदान गरिने सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

आइवार अर्थात ९६ घण्टाभित्र माग सम्बोधन नभए आकस्मिक र वार्ड बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले दिएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयको बेवास्ताको कारण आफूहरू मर्कामा परेको कर्मचारीहरूले उल्लेख गरेका छन्।

अस्पतालमा कार्यरत कर्मचारीहरूले पुस ६ गते, फागुन २३ गते, चैत १ र ८ गते रकम भुक्तानीका लागि सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दा समेत सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ। सामाजिक विकास मन्त्रालयले आइतवारसम्म माग  सम्बोधन नगरे आकस्मिक र बार्डका सेवा बाहेक अस्पतालबाट प्रदान गरिने सबै सेवा ठप्प हुने अवस्था आएको अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए।

कमेन्ट लोड गर्नुस