सुदूर नेपाललाई विश्वसँग जोड्दै

धर्मका नाममा धनगढीमा वन अतिक्रमण गर्न खोजेको भन्दै विरोध

२०७६ जेठ १२, ०४:४६ खबर संवाददाता

धर्मका नाममा धनगढीमा सामुदायिक वन अतिक्रमण गर्न खोजेको भन्दै विरोध गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १० का स्थानीयले वडा नम्बर ९ मा रहेको शैलेश्वरी सामुदायिक वनको केही क्षेत्र आफ्नो भन्दै तारवार गरेपछि विरोध गरिएको हो।  २०५५ सालदेखि आफूहरुले संरक्षण गरेको सामुदायिक वनको पूर्व–उत्तरतर्फको केही जग्गा आफूहरुको चराई खाने स्थान हो भन्दै धर्मका नाममा वडा नम्बर १० का स्थानीयले तारबार गरेपछि स्थानीयले आज डिभिजन वन कार्यालय धनगढीमा अतिक्रमण हटाउन माग गरेका छन्।

वडा नम्बर ९ का अध्यक्ष प्रेम बहादुर भण्डारीको नेतृत्वमा आएका स्थानीयले डिभिजन वन कार्यालयलाई निवेदन पेश गर्दै अतिक्रमण हटाई विवाद समाधान गरिदिन माग गरिएको छ। वडाअध्यक्ष भण्डारीले वडा नम्बर १० का केही स्थानीय आएर घुईया माताको मन्दिरमा लाग्ने पुजामा जमिन आवश्यक पर्ने भन्दै घेराबार गरेको बताए।

उनले स्थानीयले सामुदायिक वनको जग्गामा कानुन विपरीत घेरबार गरेकाले हटाउन माग गर्दै डिभिजन वन कार्यालयमा निवेदन दर्ता गरिएको जानकारी दिए। स्थानीय शिवचरण पार्कीले वडा नम्बर १० का स्थानीयले डर धम्की देखाएर सुरुमा बस्तीमै घेरबार गरेको बताए। पार्कीले वडाबासीले वषौँदेखि उपभोग गर्दै आएको सामुदायिक वन र आसपासको जग्गा अतिक्रमणको प्रयास गरिएकाले सम्बन्धीत निकायले गम्भीर बन्नुपर्ने बताए।   
 

कमेन्ट लोड गर्नुस