सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरबृद्धीको पटक–पटक अनुगमन, अवरोध हटाउन पहल भएन

२०७६ जेठ १२, ०७:४० खबर संवाददाता

बैशाख २२ गतेदेखि धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु भएपछि विभिन्न निकायबाट पटक–पटक अनुगमन भएको छ। तर स्तरबृद्धिमा देखिएको समस्या समाधानका लागि कुनै पनि निकायले पहल नगरेको गुनासो निर्माण व्यवसायी र धनगढी विमानस्थलको छ। जेठ २ गते धनगढी उप–महानगरपालिकाका मेयर नृप वड जम्बो टोली लगेर विमानस्थलको अनुगमनमा पुगेका थिए। सो क्रममा विमानस्थल मर्मतका लागि अन्य कुनै समस्या नभएपनि घुमाउरो सडक भएर निर्माण सामाग्री ल्याउदा स्तरबृद्धीमा ढिलाई भईरहेको गुनासो विमानस्थल प्रमुख तेजवहादुर बुढथापा र निर्माण व्यवसायी रत्नवहादुर खड्काले अनुगमन टोली समक्ष राखेका थिए। उनीहरुले खुटिया–धनगढी खण्ड भएर निर्माण सामाग्री ल्याउन दिनुपर्ने माग पनि अनुगमन टोली समक्ष राखेका थिए। अनुगमनका क्रममा मेयर वोडले द्रुतमार्ग भएर निर्माण सामाग्री ल्याउन दिनका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन समेत दिए।

अनुगमन टोलीमै रहेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले पनि विमानस्थल स्तरबृद्धीको कार्यमा कुनै अवरोध आए समन्वय गर्न तयार रहेको दावी गरेका थिए। कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरुको पनि आश्वासन सोही थियो। तर अनुगमन भएको ११ दिन वितिसक्दा समेत निर्माण व्यवसायीले अहिले सम्म द्रुत मार्ग भएर निर्माण सामाग्री ल्याउन पाएको छैन्। मेयर वडले स्थानीयलाई द्रुत मार्ग भएर निर्माण सामाग्री ल्याउन दिन आग्रह गरेपनि स्थानीयले नकारीदिएको बुझिएको छ। स्थानीयले मेयर वडलाई विमानस्थल चाहिने तपाईहरुलाई नै हो, हामीले सधै यहि सडक प्रयोग गर्नुपर्छ, सुरुमा धुलो व्यवस्थापन गर्नुहोस अनि मात्रै सडक भएर निर्माण सामाग्री लैजानुहोला भन्दै सडक प्रयोग गर्न असहमती जनाएको बुझिएको छ। 

यस्तै स्तरबृद्धिको कार्य भइरहेको धनगढी विमानस्थलको शनिवार पनि फेरी अनुगमन गरिएको छ। प्रदेशसभा सदस्यद्वय डाक्टर रणबहादुर रावल, डिल्लीराज पन्त, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको टोलीले विमानस्थलको अनुगमन गरेको हो। अहिले पनि अनुगमनका क्रममा निर्माण व्यवसायीका तर्फबाट पुरानै समस्या अनुगमन टोली समक्ष राखिएको छ। तर विमानस्थल बन्द भएको २२ दिन सम्म छोटो दुरीको सडक प्रयोग गर्न पहल नगरेका नेताहरुले अव पहल गर्नेमा विश्वास निर्माण व्यवसायीलाई पनि लागेको छैन्। अहिले पुर्वपश्चिम राजमार्ग हुँदै अत्तरिया–मोहनापुल ६ लेन सडक भएर निर्माण सामाग्री ल्याउनुपर्दा समस्या भईरहेको निर्माण कम्पनीले जनाएको छ। धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले समस्या भईरहेको हो। दैनिक सडकमा पानी हाल्ने सर्तमा निर्माण सामाग्री ल्याउन दिने सहमती भएपनि निर्माण कम्पनीले उक्त व्यवस्था गर्न नसक्ने जनाएको छ।

धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। निर्माण सुरु गरिएको २२ दिनमा ३० प्रतिशत भौतिक प्रगती मात्रै भएकाले २१ ग्तेदेखि नै विमानस्थल सुचारु हुनेमा भने आशंका बढेको छ। 
 

कमेन्ट लोड गर्नुस