सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पसल र दार्चुलामा घरमा आगलागी हुँदा लाखौंको क्षति

२०८१ वैशाख १६, ०९:२७ खबर संवाददाता

धनगढीः डडेल्धुरामा पसल र दार्चुलामा घरमा आगलागी हुँदा लाखौं मुल्यको धनमाल जलेर नष्ट भएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका उद्वब दियालको २ कोठे १ तले जस्ता पाताले छाएको पसलमा आगो लागेको हो। पसल नजिकै रहेको लाल चुचरे सामुदायिक वनमा लागेको आगोबाट शनिबार दिउँसो आगलागी हुँदा पसलभित्र रहेका खुद्रा, स्टेशनरी, लत्ताकपडा, भाडाँकुडा लगायतका सामान जलेर नष्ट भएको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। उता दार्चुलाको शैल्यशिखर नगरपालिका–९ ठुलसैनीका नरेश दमाइको १ तले १ कोठे खरले छाएको दुईवटा कच्ची घरमा आगलागी भएको छ।

जङ्गलमा लागेको आगोबाट शनिबार साँझ आगलागी हुँदा घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काठ लगायतका सामान गरेर करिब  १० लाख बराबरको धनमाल जलेर नष्ट भएको हो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस