सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशमको पोष्टले सुदूरपश्चिम सरकारमा हलचल, मुख्यमन्त्री पद नै धरापमा

२०८१ वैशाख १६, ०८:५७ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो फेसबुकमा पोष्ट गरेका दुईवटा स्टाटसले सुदूरपश्चिम सरकारमा हलचल नै मच्चिएको छ।

एउटा नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा आफै दाबी गर्ने, अर्को हाल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने। यसबाट हालै मात्र मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ। नागरिक उन्मुक्ति पार्टीको पुर्ण बैठक बसेको तस्वीर पनि रेशम आफैले सार्वजनिक गरेका छन्। सो बैठकले सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन्।

बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको छ। यो पार्टीबाटै निर्णय भएको रेशमको दाबी छ। साथै कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने लगायतका मुद्दाको सवालमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग एकमत हुने निर्णय बैठकमा भएको विषय पनि बाहिर आएको छ।

विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन्। फेसबुकमार्फत उनले यस्तो जनाएका हुन्। उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए। उसो त सत्ता गठबन्धनभित्र विवादकैबिच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल सरकार विस्तार गरेर विश्वासको मत लिने योजना बनाएका थिए। तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि अन्योल सिर्जना भएको हो। एमालेले मुख्यमन्त्रीमा विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन। बझाङ उपनिर्वाचनपछि यस विषयमा एमालेले ठोस निर्णय गर्ने जनाएको छ।

बझाङको नतिजाले मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने वा नदिने विषयमा निचोड आउने नेताहरूबिच चर्चा छ। नागरिक उन्मुक्ति पार्टीभित्र सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा बहुमत सांसदहरू विपक्षमा उभिने निश्चित जस्तै छ। सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा ती सांसदहरुले समर्थन गरेका थिएनन्। सोडारी मुख्यमन्त्रीमा नियुक्त हुँदा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदहरू मात्रै पक्षमा देखिएका थिए।

नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिताले बहुमत सांसदहरूको समर्थन रहेका दलका नेता घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी दिएकी थिइन्। शनिवार रेशम चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीले चाँडै समर्थन फिर्ता लिने अभिव्यक्ति सार्वजनिक गरेका थिए। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित रहेको फोटो सार्वजनिक गर्दै रेशमले लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ।’

सुरुबाटै रेशम वर्तमान सरकारलाई समर्थन नगर्ने पक्षमा अडिग थिए। उनी काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहन्थे र उनी निकटका पाँच सांसद अहिले पनि सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा छैनन्। नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिए वा विश्वासको मत नदिएर सरकार एक महिना बढी चल्ने अवस्था छैन्।

सुदूरपश्चिम प्रदेश सरकार ११ दिनसम्म विस्तार हुन सकेको छैन्। वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसै दिन मुख्यमन्त्री सोडारीले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि अहिलेसम्म सरकार विस्तार हुन सकेको छैन्। एमाले र माओवादी सरकारमा सहभागी भएका छैनन्।

एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ भने माओवादी पार्टीले तयार गरेको कार्यदलको सुझाव पर्खिरहेको छ। सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा हरि चौधरी उत्सव, जगत पार्की, रुपा चौधरी र मानबहादुर धामी सदस्य रहने गरि सरकारमा सहभागी हुन मन्त्रीहरूको मापदण्ड तयार गर्ने काम भइरहेको छ।

कमेन्ट लोड गर्नुस