सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा आयुर्वेद सेवाका विषयमा अभिमुखीकरण

२०८१ वैशाख १६, ०७:४२

अछामः अछाममा आयुर्वेद सेवाका विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला आयुर्वेद कार्यालय, अछामले प्रदान गर्ने सेवा तथा आयुर्वेद चिकित्साका विषयमा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो।

कमलबजारमा शनिवार जनप्रतिनिधि तथा सञ्चारकर्मीसँग अभिमुखीकरणको आयोजना गरिएको छ। उक्त अभिमुखीकरण कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा हालसम्म उपलब्ध सेवाको बारेमा जानकारी दिइएको थियो। आयुर्वेद उपचार पद्धतिको महत्व दिन प्रतिदिन बढ्दै गएको भन्दै कमलबजारका जनप्रतिनिधिहरूले आयुर्वेद स्वास्थ्य केन्द्र कमलबजारमा पनि स्थापित हुनुपर्ने माग गरेका छन। आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागी व्यक्तिहरूले न्यून बजेट, कम जनशक्तिका बिच पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निकै प्रभावकारी र परिणाममुखि काम गरेको भन्दै गाउँ-गाउँमा स्वास्थ्य शिविर सञ्चालन, जीवनशैली व्यवस्थापनका निम्ति स्वस्थ जीवन, योगा तथा बाथ रोगका लागि स्टिम वाथ लगायतका कार्यक्रम सञ्चालन गरि जनताका बिच लोकप्रिय बन्दै गएको बताएका छन।

जिल्लाको कुल जनसङ्ख्याको १२ हजार ४ सय ३८ जना महिला र ९ हजार ८३ जना पुरुष गरि जम्मा २१ हजार ५ सय २१ जनाले आयुर्वेद सम्बन्धी सेवा लिएको तथ्यांक जिल्ला आयुर्वेदका वैद्य खडक बमले प्रस्तुत गरेका छन्। उनले अहिलेसम्म आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवाहरू उत्कृष्ट एवं नवीनतम अभ्यासका बारेमा बताए। जिल्ला आयुर्वेद केन्द्रले जिल्ला भर सञ्चालन गरिरहेका विभिन्न सेवाका विषयमा समेत कार्यक्रममा जानकारी दिइएको थियो।

कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा विष्ट कुँवरले आयुर्वेद सेवा सम्बन्धी प्रचारप्रसारको कमि रहेको बताइन्। उनले केन्द्रले आम नागरिकसम्म आयुर्वेद स्वास्थ्य सेवाका विषयमा प्रचारप्रसारका कार्यक्रम समेत गर्न आवश्यक रहेको उनले बताएकी छन्। गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन, आयुर्वेद स्वास्थ्य केन्द्र विस्तार, र स्वास्थ्य शिविर गर्न बजेटको व्यवस्था गरिने समेत उनले आग्रह गरेकी छन्।

जिल्ला आयुर्वेद केन्द्र अछामका कार्यालय प्रमुख दिपकराज पन्तले आयुर्वेदको महत्व, यसको प्रयोग र बुझाई, जीवनशैली अवलम्बन गर्ने तरिका आदि बारेमा बताएका थिए। पर्याप्त जनशक्ति, आवश्यक उपकरण र औषधीको व्यवस्था गर्न राज्यका तीनवटै निकायले एकजुट भएपछि मात्र सम्भव हुने उनले बताए।

कमेन्ट लोड गर्नुस