सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवनमा सञ्चालक समितिकै बदमासी! परीक्षा स्थगित गर्न उजुरी

२०८१ वैशाख १५, ०६:४३ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारीले कर्मचारी भर्ना गर्न लिने परीक्षाको सम्पूर्ण प्रक्रिया स्थगित गर्न माग गरिएको छ।

परीक्षा स्थगनको माग गर्दै नेपाल राष्ट्र बैंक, सहकारी विभाग, धनगढी उपमहानगरपालिका र सिआइबीमा उजुरी नै गरिएको छ। नवजीवन सहकारीको परीक्षाको तयारी गरिरहेकाहरुले परीक्षा स्थगनको माग गरेका हुन्। सञ्चालक समितिले प्रक्रिया पुगाएर आफन्त र निकटका व्यक्तिलाई स्थायी गर्न खोजेको आरोप छ। 

नवजीवन सहकारीको कर्मचारी भर्नाको परीक्षा स्थगन गर्न विभिन्न निकायमा बेनामी उजुरी परेको छ। सहकारीले ११ जना कर्मचारी भर्ना गर्न खोलेको विज्ञापनमा मिलेमतोमा आफ्ना मान्छे पास गर्ने चलखेल भएको भन्दै नेपाल राष्ट्र बैंक सहकारी विभाग, धनगढी उपमहानगरपालिका, सिआइबी र नेपाल प्रहरीलगायतका निकायमा उजुरी परेको छ।

सहकारी सञ्चालक समितिमा रहेका केही व्यक्तिले आफ्ना छोराछोरी, श्रीमती, आफन्त र निकटका व्यक्तिलाई भर्ना गर्न खोजेको भन्दै निवेदककै तर्फबाट बेनामे उजुरी परेको हो। नवजीवन सहकारीमा एक वर्ष अगाडि करारमा नियुक्त गरिएका व्यक्तिहरूलाई नै स्थायी गर्न विज्ञापन खुलाइएको दाबी छ।

गत वर्ष नै सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष, र केही सदस्यहरूले आफन्त र निकटका व्यक्तिलाई करार सेवामा प्रवेश गराएको र तिनै व्यक्तिलाई यो वर्ष प्रक्रिया पूरा गरेर स्थायी बनाउन खोजिएको आरोप लागेको छ। नवजीवन सहकारीका अध्यक्ष देवबहादुर बमले नै आर्थिक लाभ लिएर करार सेवामा कार्यरत चन्द्रप्रकाश अवस्थीलाई पास गर्न खोजेको आरोप लागेको हो।

यस्तै, उपाध्यक्ष चेतराज ओझालाई आफ्नै छोरा कृष्णप्रसाद ओझालाई उत्तीर्ण गराउन खोजेको विषय पनि बाहिर आएको छ। कृष्णप्रसाद ओझालाई जागीर खुवाउन तथा सेवा प्रवेश गराउन उम्मेदवार बन्न ४० वर्ष पूरा नभएको हुनुपर्ने प्रावधान कायम गरिएको जिकिर छ। ओझा ३५ वर्ष पूरा भएको उम्मेदवार रहेको उजुरी पत्रमा उल्लेख छ।

यसैगरी, सञ्चालक समितिका सदस्य उपेन्द्र बिष्टले जीवन थापा, अर्का सदस्य जयराज जोशीले हेमराज जोशी तथा गोपालराज पाठकले खेमराज ओझालाई उत्तीर्ण गराउने निश्चित जस्तै भएको दाबी गरिएको छ। गोपालराज पाठकले गत वर्ष नै आफ्नी पत्निलाई करारमा जागीर खुवाएर यो वर्ष स्थायी बनाउन खोजेको विषय सार्वजनिक भएको छ। तर, पाठकले भने कसैलाई जागीर खुवाउन खोजेको भन्ने आरोप  निराधार भएको दाबी गरेका छन्।

सहकारीको परीक्षा स्थगन गर्न आग्रह गर्न बैशाख ८ गते उजुरी गरिएको थियो। तर, शनिवार छैठौं तहको परीक्षा सम्पन्न भइसकेको छ भने बैशाख १९ गते सहायक चौथो तहको परीक्षा हुने मिति तोकिएको छ। नवजीवन सहकारीमा बिगतदेखि नै सञ्चालक समितिले आफन्त र निकटका व्यक्तिलाई जागिर खुवाउने थलोको रुपमा उपयोग गर्दै आएको आरोप लाग्ने गरेको छ।

विगतमा खोलिएका विज्ञापनहरूमा पनि प्रश्नपत्र आउट गरेर, उत्तरपुस्तिका चेकजाँचमा चलखेल गरेर निकटका व्यक्तिलाई जागीर दिने काम भएको सार्वजनिक रुपमै टिप्पणी गरिएको छ। तर, अध्यक्ष देवबहादुर बमले यो पटक निष्पक्ष कर्मचारी छनोट गरिने दाबी गर्दै आएका छन्। उनले आर्थिक लाभ लिएको, परीक्षामा बदमासी गरेको प्रमाणित भए नवजीवनको अध्यक्षको पद तत्काल त्याग्न तयार रहेको दाबी गरेका हुन्।

नवजीवन सहकारीले विज्ञापन खुलाएको सहायक प्रवन्धक छैठौं तहको ४ सिटको लागि ३५ जनाले आवेदन दिएका छन्। छैठों तहको बैशाख १५ गते शनिवार लिखित परीक्षा भएको छ भने सहायक चौथो तहको ७ सिटका लागि ६ सय जनाको निवेदन परेको छ। सहकारीले सहायक प्रवन्धका लागि एक हजार ५ सय र चौथो तहका लागि ७ सय आवेदकबाट दस्तुर उठाइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस