सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामुदायिक विद्यालय सुधार गर्दै कृष्णपुरका अभिभावक

२०८१ वैशाख १३, १०:५१ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन्। 

सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी भए पनि सोअनुसार प्रतिफल प्राप्त हुन नसकेको भन्दै अभिभावक विद्यालय सुधारका लागि अग्रसर हुन थालेका हुन्। धेरै अभिभावकले त निजी विद्यालयमा पढ्दै आएका आफ्ना नानीबाबुलाई छुटाएर सामुदायिक विद्यालयमा भर्ना गरी शैक्षिक गुणस्तर सुधारमा सचेत हुन थालेका स्थानीयको भनाइ छ। 

त्यसरी अग्रसर हुनेमध्येका नगरपालिका– २ वाणी निवासी महेशदत्त जोशीले निजी विद्यालयमा पढ्दै आएका आफ्ना नातिनातिनालाई घर नजिकैको सरस्वती माध्यमिक विद्यालयमा भर्ना गरेका छन्। प्रदेशसभाका पूर्वसदस्यसमेत रहेका जोशीले सामुदायिक विद्यालयलाई सुधार गरी गुणस्तरीय शिक्षा दिने अपेक्षासहित निजी विद्यालयमा पढ्दै आएका दुई नातिनी र एक नातिलाई भर्ना गरेको बताए। ‘सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी छ। त्यसको सुधारमा चासो राख्नु हामी नागरिकको पनि दायित्व हो। यहाँ रहेका अब्बल शिक्षक, भौतिक पूर्वाधार र लगानीलाई सदुपयोग गर्नसकेमा धेरै लाभ लिन सकिन्छ भन्ने अपेक्षासहित अभिभावक अग्रसर हुन थालेका छौँ’, जोशीले भने। 

निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यम र गुणस्तरीय शिक्षण सिकाइमा ध्यान दिनसकेमा सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढ्ने उनको बुझाइ छ। स्थानीय अर्जुनबहादुर सिंहले पनि निजी विद्यालयमा पढ्दै आएका नातिलाई वडा नं २ स्थित सिद्धनाथ बालज्योति आधारभूत विद्यालयमा भर्ना गरेका छन्। अभिभावक र शिक्षक मिलेर अगाडि बढे निजी क्षेत्रका विद्यालयमा जस्तै गुणस्तर सुधार गर्न सकिने अपेक्षासहित आफूले सामुदायिक विद्यालय रोजेको उनले बताए। ‘आफ्ना सन्तानलाई विद्यालय बाहिर राखेर सुधारका कुरा गर्दा रामो हुुदैन। त्यसैले शिक्षकसँग मिलेर विद्यालयको अवस्था सुधारमा आफैँ अग्रसर हुने योजनासहित हामीले सामुदायिक विद्यालय रोजेका छौँ । सबैको सामूहिक पहलबाट अवश्य सफल हुनेछौँ’, सिंहले भने।

सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौधरीले पनि केही वर्ष पहिले आफ्नी छोरीलाई नजिकैको निजी विद्यालयमा पढाउथे। अहिले भने उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन थालेपछि छोरीलाई आफैँ अध्यक्ष रहेको सामुदायिक विद्यालयमा भर्ना गरेका छन्।  

सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक अम्बादत्त बडु पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने दायित्व सबै मिलेर पूरा गर्नुपर्ने बताउछन। पछिल्लो समय सामुदायिक विद्यालय सुधारका लागि स्थानीय अभिभावकले चासो राख्न थालेपछि आफूहरू पनि थप सचेत र सजग बनेको उनले बताए। ‘विद्यालयको आधारभूत तहमा अङ्ग्रेजी माध्यममा पठनपाठनसँगै कम्प्युटर प्रयोगशाला, पुस्तकालयलगायतको व्यवस्था छ। अब त्यसको सदुपयोग गर्दै शैक्षिक अवस्था सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र सम्पूर्ण सरोकारवाला मिलेर अगाडि बढ्न जरूरी छ । यसले पक्कै पनि सामुदायिक विद्यालयको अवस्था सुधार हुनेछ।’

बडुले आफ्नो विद्यालयले नियमित शिक्षण सिकाइको गुणस्तर सुधारमा जोड दिनुका साथै कमजोर विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई उत्प्रेरित गर्ने काम गरिरहेको बताए। 

अभिभावको चासो र अग्रसरताअनुसार स्थानीय तहले पनि सहजीकरणको काम गरिरहेको छ। वडा नं २ का अध्यक्ष अर्जुन साउदले स्थानीय तहले नियमित अनुगमन गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्था बुझ्ने, लक्षित विद्यार्थीले छात्रवृत्ति पाए नपाएको, शैक्षिक सामग्रीको यथोचित व्यवस्था भए नभएको र शिक्षकले गरिरहेका क्रियाकलापबारे जानकारी लिने काम भइरहेको बताए। यस कार्यले सामुदायिक विद्यालयप्रति अभिभावको अभिरुचि बढ्न सहयोग पुगेको उनको बुझाइ छ। 

‘असहाय, आर्थिकरूपमा विपन्न, अपाङ्गता भएका, दलित र वादी समुदायका बालबालिकालाई वडा कार्यालयका तर्फबाट निःशुल्क शैक्षिक सामग्री र पोशाक वितरण गरिरहेका छौँ। विद्यालयको अवस्था हेरेर अनुदानका कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्। अनुगमनलगायत उल्लेखित कार्यले शिक्षक, अभिभावक र विद्यार्थीलाई उत्प्रेरित गरिरहेको हाम्रो बुझाइ छ”, उनले भने। 

नगरप्रमुख हेमराज ओझाले पनि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग संवाद, सामुदायिक विद्यालयको कार्यसम्पदान मूल्याङ्कन र गुणस्तर मापन संयन्त्र बनाएर सुधारका लागि पहल भइरहेको बताए। ‘शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक विद्यार्थीको अनुपातमा विद्यालयको भौतिक संरचना सुधार, तहगतरूपमा शिक्षक दरबन्दी मिलान, शिक्षकको क्षमता विकासका लागि तालिम, एउटा वडाको कम्तीमा एउटा सामुदायिक विद्यालयमा अङ्ग्रेजीमाध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ। यसले विद्यालयको समग्र अवस्था सुधारमा सकारात्मक योगदान पुगेको छ’, नगरप्रमुख ओझाले भने। 
कृष्णपुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय रहेका छन् भने चालु शैक्षिकसत्रमा १६ हजारभन्दा बढी विद्यार्थी ति विद्यालयमा भर्ना भएका छन्।
 

कमेन्ट लोड गर्नुस