सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा किशोरकिशोरी नै लागुऔषधमा, चोरीमा संलग्न किशोर सार्वजनिक

२०८१ वैशाख १२, ०१:४० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा किशोरकिशोरी नै लागुऔषध सेवनदेखि ओसारपसासम्मै संलग्न हुने गरेको पाइएको छ।

कानुनी रुपमा अपराध मानिएको लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा समेत किशोरकिशोरी प्रयोग भइरहेको पाइएको हो। केही वर्ष अघिसम्म पुरुष मात्र लागुऔषधमा संलग्न हुने गरेकोमा पछिल्लो समय युवायुवती हुँदै किशोरकिशोरी नै यस्तो कार्यमा संलग्न हुने गरेको विवरण दैनिक रुपमा सार्वजनिक हुँदै आएको छ।

हिजो (मंगलबार) मात्र धनगढी उपमहानगरपालिका–७ बाट धनगढी–२ का १८ वर्षीय दिलिप रानालाइ प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ। उनी ९० मिलीग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। हिजो साँझ नै एक किशोरी पनि लागुऔषधसहित पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगरबाट धनगढी–३ मै बस्ने १९ वर्षीया चेतना सेट्टी तीन सय ६० मिलीग्राम लागुऔषधसहित पक्राउ परेकी हुन्।

त्यसैगरी मंगलबार नै थप दुई जना किशोर पनि लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट सोही स्थानका १९ वर्षीय मानवीर चौधरी र १९ वर्षकै सविन महतोलाइ प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ। पाँच ग्राम चार सय ३० मिलीग्राम लागुऔषधसहित दुबै जना किशोर पक्राउ परेका हुन्। यसरी एकैदिन एक किशोरी र चार जना किशोर लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

धनगढीमा किशोर लागुऔषधमा मात्र नभएर चोरीमा समेत संलग्न हुने गरेको पाइएको छ। मंगलबार कञ्चनपुरको वेदकोट नगरपालिका–२ का १८ वर्षीय सन्देश खत्री र सोही स्थानका १९ वर्षीय लोकेश बोहरा तीनवटा मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–४ का रामबहादुर शाही, धनगढी उपमहानगरपालिका–३ का २२ वर्षीय निरज चौधरी र धनगढी उपमहानगरपालिका–४ का राहुल ओझाको मोटरसाइकल उनीहरुले चोरी गरेका थिए।

कमेन्ट लोड गर्नुस