सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धनाथ मावि धनगढीमा स्मार्टबोर्डबाट पठनपाठन सुरू, पाँच विद्यालयलाई ५० बोर्ड वितरण

२०८१ वैशाख ११, ०६:१४ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू भएको छ।

उपमहानगरले नमुना विद्यालय घोषणा गरेको सिद्धनाथमा कक्षा १ देखि १० सम्म स्मार्टबोर्डका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न थालिएको हो। सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्टबोर्डको प्रयोग गर्ने योजना बनाइएको हो। स्मार्टबोर्डको प्रयोगबाट शिक्षण गर्न निकै सहज भएको विद्यालयका शिक्षक तेजराज भट्टले बताए। उनले शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्टबोर्ड निकै उपयोगी रहेको बताए।

‘स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ। विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन्’, उनले भने, ‘स्मार्टबोर्डले गर्दा कुनै कक्षामा शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले पढ्न र अभ्यास गर्न पाउने अवस्था निर्माण भएको छ।’

नमुना विद्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने
धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका विद्यालयहरूले शनिवार बाहेकका सार्वजनिक बिदाको दिनसमेत पढाई हुने भएको छ। नगरपालिकासँग कार्यसम्पादन सम्झौता गर्दा नै नमुना विद्यालयहरूले अनावश्यक हुने सार्वजनिक बिदाको दिनसमेत विद्यालय चलाउने भन्दै वार्षिक कार्ययोजना बनाएका हुन्। विद्यार्थीको सिकाइमा सुधार सार्वजनिक विदाको दिनसमेत नियमित पठनपाठन हुने भएको छ।

गत वर्ष नमुना घोषणा भएका धनगढीका पाँच विद्यालयले शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिनसमेत पठनपाठन गर्ने वार्षिक कार्ययोजना बनाएका हुन्। सार्वजनिक बिदाको दिनसमेत विद्यालयमा पठनपाठन गराएर हरेक कक्षाको नतिजा उत्कृष्ट ल्याउन विद्यालयका सबै शिक्षक कस्सिएर लागेको प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताए। ‘हामीले नगरपालिकासँग गरेको वार्षिक कार्यसम्पादन सम्झौतामा समेत शनिवार बाहेकका सार्वजनिक बिदामा विद्यालय खोल्ने निर्णय गरेका छौँ।

वार्षिक कार्ययोजना बनाउँदा नै अन्य विद्यालयको तुलनामा बढी दिन विद्यालय खोल्ने भएका छौँ’, उनले भने, ‘गत वर्ष कक्षा ८ को नतिजा केबल ७ प्रतिशत थियो, यो वर्ष सुधार भएर ६० प्रतिशत पुगेको छ। अझै सबै कक्षाको नतिजा उत्कृष्ट ल्याउने हिसाबले हामी सबैले मेहनत गर्नेछौँ।’
ग्रामीण क्षेत्रका विद्यालयलाई नमुना बनाउन प्राथमिकता 
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नमुना घोषणा गर्दै भौतिक तथा शैक्षिक सामग्रीसहित विषयगत शिक्षकको व्यवस्थापन गर्ने भएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत प्रतिस्पर्धी र क्षमतावान बनाउन ग्रामीण क्षेत्रका विद्यालयलाई हरेक वर्ष नमुना बनाउँदै लग्ने योजना उपमहानगरपालिकाको छ।

सरकारी विद्यालयप्रतिको धारणामा परिवर्तन ल्याउन नमुना विद्यालयमा आधुनिक शैक्षिक सामग्री, भवन, फर्निचर र आवश्यक सबै सुबिधा उपलब्ध गराउने धनगढी उपमहानगरपालिकाको योजना रहेको नगर प्रमुख गोपाल हमालले बताए। ‘हाम्रो निर्वाचित टिमले ग्रामीण क्षेत्रका विद्यालयको सुधार गर्ने योजनाअनुसार नमुना विद्यालय घोषणा गरिएको हो।

हरेक वर्ष पाँच वटाका दरले नमुना विद्यालय विकास गर्ने लक्ष्य छ’, उनले भने, ‘ग्रामीण क्षेत्रका बालबालिकाले निःशुल्क स्तरीय शिक्षा हासिल गरेर अरु जस्तै प्रतिस्पर्धामा उत्रन सकून् भनेर नमुना विद्यालय घोषणा गरेर विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्न खोजिएको हो।’
ग्रामीण क्षेत्रका विद्यालयमा प्रविधिको प्रयोग
मङ्गलवार धनगढी उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेको वडा नम्बर १२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन गराउने कार्यको उद्घाटन गरिएको हो। नमुना विद्यालय घोषणा भएका धनगढीको ग्रामीण क्षेत्रका पाँचवटा विद्यालयलाई जनही १० वटाका दरले उपमहानगरपालिकाले स्मार्टबोर्ड वितरण गरेको थियो।

आधुनिक प्रविधिको प्रयोगबाट प्रभावकारी शिक्षण सिकाइ गर्न नमुना विद्यालयका सबै कक्षामा स्मार्टबोर्डको माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप गर्न थालिएको छ। धनगढीमा नमुना घोषणा भएका विद्यालयमा प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थालिएको छ। प्रविधिको प्रयोग गर्दै रम्दै विद्यार्थीले सिक्ने अवसर पाउँदा विद्यालयका अभिभावक खुसी भएका छन्।

उपमहानगरपालिकाले विद्यालयलाई सबै किसिमको सहयोग गर्ने बताएको भन्दै विद्यालयको शैक्षिक अवस्था राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसनदेव उपाध्यायले बताए। ‘नगरपालिकाले हामीलाई सहयोग गरेको छ। अझै थप सहयोग गर्नुपर्ने आवश्यकता छ। हामी पनि अभिभावक तथा व्यवस्थापन समितिको तर्फबाट विद्यालयलाई राम्रो बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ’, उपाध्यायले भने।
यो वर्ष  पाँच विद्यालयलाई ५० स्मार्टबोर्ड वितरण
यो वर्ष मात्रै धनगढी उपमहानगरपालिकाले पाँच नमुना विद्यालयमा १० का दरले ५० वटा स्मार्टबोर्ड उपलब्ध गराएको छ। स्मार्टबोर्ड प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप गर्न शिक्षकहरूलाई तालिमसमेत दिइएको छ। कक्षा कोठामा प्रविधिको प्रयोग गरेर शिक्षण गर्दा विद्यार्थीमा प्रभावकारी सिकाइ हुने विश्वास गरिएको छ।

महङ्गो शुल्क तिरेर निजी विद्यालयमा पढाउन ग्रामीण क्षेत्रका अभिभावकलाई समस्या हुने भएकाले सरकारी विद्यालयहरूलाई नै सक्षम बनाएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने लक्ष्य उपमहानगरको छ। नमुना विद्यालयका कारण सर्वसाधारणका छोराछोरीले निःशुल्क र स्तरीय शिक्षा पाउने हुँदा सरकारी विद्यालयप्रति विश्वास बढ्ने प्राध्यापक डाक्टर हेमराज पन्तले बताए। उनले प्रविधिको प्रयोग गरेर सिक्न पाउँदा विद्यार्थीहरूमा क्षमता बढ्ने र महङ्गो विद्यालयमा पढेकाहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताए।
कमजोर अवस्था भएका विद्यालय क्रमशः नमुना हुने
धनगढी उपमहानगरपालिकाले ग्रामीण भेगका कमजोर अवस्था भएका विद्यालयहरूलाई नमुना घोषणा गर्ने नीति लिएको छ। नमुना घोषणा भएका विद्यालयमा प्रविधि हस्तान्तरण, विद्यालय भवन निर्माण, शिक्षक तालिम, र खेलकुदलगायत अतिरिक्त क्रियाकलाप गर्न आवश्यक सामग्री सहयोग गरिने छन्।

गाउँका सरकारी विद्यालयहरू बलियो बनाउने र सरकारी विद्यालय प्रतिको विद्यमान धारणामा परिवर्तन ल्याउन नगरपालिका, व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरूले काम गर्नुपर्ने नगर प्रमुख हमालले बताए। कम आय भएका ग्रामीण क्षेत्रका बालबालिकाले गाउँमै स्तरीय शिक्षा पाउन भनेर शिक्षक तालिम, भौतिक निर्माण तथा शैक्षिक सामग्रीको सहयोग उपमहानगरले गर्ने नगर प्रमुख हमालले बताए।

‘ग्रामीण क्षेत्रका विद्यार्थीले स्तरीय शिक्षा गाउँमै पाउन भनेर नमुना विद्यालयको अवधारणा ल्याइएको हो। हाम्रो कार्यकालभरी कम्तिमा एउटा वडामा एक नमुना विद्यालय बनाएर सरकारी शिक्षाको अवस्था सुधार्न सबै प्रयास गरिनेछन्’, नगर प्रमुख हमालले भने। हरेक वर्ष एक वडामा कम्तिमा माध्यमिक तहको एउटा विद्यालयलाई नमुना बनाउने योजना उपमहानगरले बनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस