सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिआइजी बढुवामा सिनियरभन्दा जुनियर गृहमन्त्रीको रोजाइमा

२०८१ वैशाख १०, ०६:३६ खबर संवाददाता

काठमाडौं: नेपाल प्रहरीका दुई एआइजी र एक डिआइजीले हालै अवकाश पाएका छन्। एआइजीद्वय सन्दीप भण्डारी र मिरा चौधरी तथा डिआइजी विकाराज खनालले उमेरहदका कारण अवकाश पाएका हुन्। अवकाशपछि रिक्त एआइजी पदमा दुई डिआइजी उमेश जोशी र भीम ढकालको बढुवा सिफारिस भइसकेको छ।

एआइजी सिफारिस भएसँगै डिआइजी बढुवाको दौडधुप सुरु भएको थियो। डिआइजीमा बढुवाका लागि एसएसपीहरू दौडधुपमा लागेका थिए।

डिआइजी बढुवामा एक दर्जनभन्दा बढी एसएसपीहरू प्रतिस्पर्धामा रहेको बताइन्छ। जसमा सिनियर टोली (हालका प्रहरी प्रमुख आइजीपीकै ब्याचमेट) बाट कृष्णहरी शर्मा, भोला रावल, धुव्र राउत र  दिल्लीराज बिष्ट लगायतका छन्। यस्तै, २०५४ सालको चैत १८ मा भर्ना भएकामध्येबाट दानबहादुर कार्की, मनोज केसी र  राजन अधिकारी लगायतका एसएसपीहरु प्रतिस्पर्धामा छन्।

बढुवा प्रतिस्पर्धामा शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चर्तुर्वेदीसमेत रहेको बताइन्छ।

अहिले डिआइजी हुने प्रहरी अधिकारी २०८२ को कात्तिकमा आइजिपीको दाबेदार हुने भएकाले पनि बढुवा पेचिलो र प्रतिस्पर्धात्मक भइरहेको बुझिएको छ।

डिआइजीमा बढुवाका लागि आइजिपी वसन्तबहादुर कुँवर र गृहमन्त्री रवि लामिछानेले कयौंपटक छलफल गरे पनि निष्कर्षमा पुग्न भने नसकेको स्रोतको दाबी छ। स्रोतका अनुसार हिजो (आइतबार) मात्रै  गृहमन्त्री लामिछानेले डिआइजीमा बढुवाको अन्तिम तयारी गरेका थिए। तर बढुवा हुन भने सकेन।

गृहमन्त्री लामिछानेले आइजिपी कुवँरलाई एक नम्बरमा आइजिपी ब्याचकै कृष्णहरि शर्मालाई र जुनियर टोलीका दानबहादुर कार्की र मनोज केसीलाई क्रमशः बढुवा गर्न दबाब दिएको स्रोतको दाबी छ।

तर बढुवा गर्न आइजिपीले प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीसमेतको सल्लाह लिएपछि हिजो बढुवा हुन नसकेको बताइएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलेले गृहमन्त्रीले अगाडि सारेको बढुवा सूचीमा सहमति नजनाएपछि डिआइजी बढुवा हुन नसकेको बताइएको छ।

ओलीले गृहलाई सिस्टमअनुसार नै बढुवा गर्न भनेपछि हिजो बढुवा प्रक्रिया रोकिएको बताइएको छ। गृहमन्त्री लामिछाने यस अगाडि पनि डिएसपी बढुवामा विवादित बनेका थिए। उनीमाथि सिस्टम मिचेर बढुवा गरेको आरोप लागेको थियो।
सिनियर एसएसपीभन्दा जुनियर गृहमन्त्रीको रोजाइमा पर्दा डिआइजी बढुवा प्रक्रिया रोकिन पुगेको स्रोतको दाबी छ।

कमेन्ट लोड गर्नुस