सुदूर नेपाललाई विश्वसँग जोड्दै

मार्तडी–कोल्टी सडकको बिजोग, जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

२०७६ जेठ १०, ११:०९ प्रकाश सिंह

बाजुराको मार्तडी–कोल्टी सडकको अवस्था बिजोग हुँदा आवतजावतमा सास्ती भएको छ। ४२ किलोमिटर सडक खण्डमा ३५ करोड भन्दा बढि खर्च भइसकेपनि सडकको अवस्था भने निकै दयनिय छ। सडकको अवस्था सुधार नहुँदा गाडी तानेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। अव्यवस्थित सडक र खाल्डाखुल्डीका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बडिमालिका नगरपालिकाको मार्तडी देखि पोरखे सम्म सबैभन्दा बढि जोखिम रहेको यात्रुहरुले बताएका छन्। २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक अहिले सम्म पुरा हुन सकेको छैन्। अहिले सम्म जिप र ट्याक्टर सञ्चालनमा आएपनि सडक निकै अप्ठयारो भएकाले जोखिम मोलेर यात्रा गर्नुपरेको जिप व्यवसायी पृथ्वी रावलले बताए। 

४२ किलोमिटर यात्रा गर्न कम्तिमा ६ घण्टा लाग्ने गरेको उनले बताए। २० बर्ष सम्म ३५ करोड भन्दा बढि खर्च भईसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पुरा नभएको स्थानिय बासिले वताएका छन्। २०५६ फागुन ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सडकको शिलान्यास गर्नुभएको थियो। शिलान्यासका बेला २०६० सम्म कोल्टीमा गाडी पुगाईसक्ने लक्ष्य राखिएको थियो। कामका लागि खाद्यन्न कार्यक्रम बाट २७ करोड ४० लाख, तत्कालिन जिविस बाजुराबाट ८ लाख, कर्णाली वरीपरीको कार्यक्रम बाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिस बाट २१ लाख र सडक बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार खर्च भईसकेको छ। बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिका बाट थप एक करोड भन्दा बढि खर्च भइसकेको छ। एकातिर मनोमानी तरीकाबाट सडक निर्माण भएको छ भने अर्कोतिर सडक पुरा हुन नसकेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले वताए। सो सडकमा अनियमितता भएको पनि पटक पटक गुनासो आउने गरेको छ। 

सडक निर्माण गर्दा वातावरणिय प्रभाब मुल्याङन समेत नभएको श्रोतको दावी छ। यता मार्तडी देखि पोरखे सम्म कालोपत्रेका लागि ५७ करोड २८ लाख २७ हजार ७ सय ५३ रकम बिनियोजन भएको प्रदेश सांसद बलदेव रेग्मिले बताए। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस