सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २८ कट्ठा क्षेत्रफलमा आधुनिक पेट्रोलपम्प खोल्ने तयारी, डिपो हटाइँदै

२०८१ वैशाख १०, १२:५८

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको धनगढीमा आधुनिक पेट्रोलपम्प खोल्ने योजना नेपाल आयल निगमले बनाएको छ।

२८ कट्ठा क्षेत्रफलमा आधुनिक र सुविधासम्पन्न पेट्रोलपम्प खोल्ने योजना निगमले बनाएको हो। सुदूरपश्चिम प्रादेशिक डिपोलाई अन्तै सारेर सो स्थानमा आधुनिक पेट्रोलपम्म स्थापना गरिने तयारी छ। सुदूरपश्चिममा न्यूनतम ९० दिन धान्ने गरी पेट्रोलियम भण्डारणगृह वृद्धि गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्न आयल निगमले पूर्वाधार निर्माण गर्ने भएको हो।

आयल निगमका प्रबन्ध निर्देशक डाक्टर चण्डिकाप्रसाद भट्टका अनुसार ६ वर्षअघि भएको पूर्वाधार निर्माण योजनालाई कार्यान्वयन गरिनेछ। सुदूरपश्चिममा इन्धन वितरण गर्ने धनगढी डिपो बस्तीको बीचमा रहेकाले स्थानान्तरण गर्न लागिएको हो। भट्टका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकामा राष्ट्रिय आवास कम्पनीको जग्गा प्राप्ति गर्नेबारे छलफल थालिएको छ।

‘सरकारी जग्गा नै प्राप्ति गरेर धनगढी डिपो स्थानान्तरण गर्ने योजनामा छौँ,’ उनले भने। हाल डिपो रहेको धनगढीस्थित २८ कट्ठामा भने आधुनिक पेट्रोलपम्प खोल्ने योजना छ। धनगढी डिपो स्थानान्तरण गर्न कञ्चनपुरको पुनर्वासमा सरकारी जग्गा प्राप्तिको गृहकार्य भइरहेको उनले बताए।

करिब २४ लाख ९० हजार लिटर इन्धन भण्डारण हुने आयल निगमको धनगढीस्थित प्रादेशिक डिपो बस्तीले घेरिएको छ। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित निगमको इन्धन भण्डारगृहको केही मिटरको दूरीमै दर्जनौँको संख्यामा घरहरु छन्। स्थानीयका अनुसार डेढ–दुई दशकयता निगमको वरिपरि बाक्लो बस्ती बनेको हो।

इन्धन डिपो बस्तीले घेरिँदा बस्ती र डिपो दुवैलाई जोखिम छ। यसले दुर्भाग्यवश कुनै अप्रिय घटना भए ठूलो क्षति हुने स्थानीय विकास खड्काले बताए। अति प्रज्वलनशील पदार्थ भण्डारण क्षेत्रवरिपरि बस्ती हुँदा अत्यन्तै ठूलो जोखिम रहेको उनले बताए। २८ कट्ठा जमिनमा रहेको डिपो पूर्वतिर धनगढी–अत्तरिया ६ लेन सडकसँगै जोडिएको छ।

डिपोमा १५ लाख ९० हजार लिटर डिजेल, आठ लाख ३० हजार लिटर पेट्रोल र ७० हजार लिटर मट्टीतेल भण्डारण गर्ने क्षमता छ। डिजेल र पेट्रोलको भण्डारणले सुदूरपश्चिम प्रदेशको पाँच दिनको खपतलाई धान्ने गरेको छ। बस्तीले घेरिएपछि निगमको धनगढी डिपो सार्नुपर्ने आवाज विगतदेखि उठ्दै आएको छ। सरकारले सात वर्षअघि नै डिपो सार्न जग्गा खरिदका लागि बोलपत्र आह्वान समेत गरेको थियो।

कमेन्ट लोड गर्नुस