सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्य सडक निर्माणका लागि थप १२ करोड बजेट माग

२०८१ वैशाख ९, ०६:३६ कमल सावद

धनगढीः कैलालीको धनगढीस्थित मुख्य सडक निर्माणका लागि थप १२ करोड बजेट माग गरिएको छ।

सो सडक निर्माणमा सुदूरपश्चिम सरकारको अहिलेसम्म १७ करोड खर्च गरिसकेको छ। बाँकी सडक निर्माण गर्न १२ करोड बजेट माग गरिएको हो। प्रदेश सरकारले अहिलेसम्म पेस्कीसहित १७ करोड कैलाली पुलदेखि क्याम्पस चोक हुलाकी राजमार्गसम्मको सडक निर्माणमा खर्च गरिसकेको छ। 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेट सकिएपछि पूर्वाधार विकास कार्यालय, कैलालीले थप बजेट माग गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालय हुँदै १२ करोड थप बजेट माग गरेको फाइल आर्थिक मामिला मन्त्रालय पुगेको पूर्वाधार विकास कार्यालय, कैलालीका प्रमुख रामचन्द्र खत्रीले बताए। उनले भने, ‘बजेट माग गरेका छौ। अर्थमन्त्रालय पुगेको छ। मन्त्री ज्यू नभएर समस्या भएको छ।’

आर्थिक मामिला मन्त्री नियुक्त नहुँदा थप बजेट विनियोजन हुन सकेको छैन्। भौतिक पूर्वाधार विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पुगाएको फाइल मन्त्री नियुक्त नभएकाले अड्किएको छ। कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणको ३० प्रतिशत काम पूरा भएको छ। सडक निर्माणको काम भने रोकिएको छैन। सो सडक निर्माण पुरा गर्न ५२ करोड खर्च हुने देखिएको छ।

सडकको दुबैतिर खानेपानीका पाइप विस्तार, विद्युतका पोल विस्तार, सडकको दुबैतिर नाली निर्माणको काम सकिएको छ। २ वटा कल्भर्ड निर्माणको आधा काम भएको छ। सडकको सव–बेस निर्माणको काम जारी छ। तर, निर्माण कम्पनीले काम गरेको रकम पाएको छैन।

धनगढीको मुख्य सडकमा नाली, फुटपाथसहित कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सनबिच २०८० वैशाख २७ गते सम्झौता भएको हो। कम्पनीले २०८२ वैशाख २६ गतेभित्र सो सडक निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ।

सम्झौता मितिभन्दा पहिला सडकको काम पूरा हुने दाबी गरिएको छ। पूर्वाधार कार्यालयको ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनले चार लेनको सडक निर्माण गर्दैछ। निर्माण कम्पनीले २८ मिटरभित्र दुई मिटर नाली, ७/७ मिटरको कालोपत्र सडक, डिभाइडरसहित स्मार्ट लाइटसमेत जडान गर्नुपर्ने सम्झौता छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस