सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयल निगम धनगढीका प्रमुख ओझाको रबैया, गेटबाटै प्रवेश गर्न नदिन उर्दी

२०८१ वैशाख ९, ०१:४० नारायण अवस्थी

धनगढीः नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख शतिसराज ओझाका कारण सुदूरपश्चिमका पेट्रोलियम व्यवसायी हैरान भएका छन्।

ओझाका कारण व्यवसायी मात्र नभएर सर्वसाधारणले पनि हैरानी खेप्नु परेको छ। गत पुसमा तत्कालीन धनगढी प्रमुख मोहनकुमार साहको सरुवापछि धनगढी डिपो प्रमुख भएर आएका ओझाले हैरानी दिएको भन्दै यहाँका पेट्रोलियम व्यवसायीले आयल निगमको केन्द्रीय कार्यालयमै पुगेर गुनासो गरेका थिए। अनावश्यक दुःख दिएको भन्दै व्यवसायीहरूले डेलिगेसन नै लगेर ओझाको सरुवा गर्नुपर्ने माग गरेको बुझिएको छ।

ओझाको रबैयाका कारण मर्कामा परेको बताउँदै आएका व्यवसायीको गुनासोपछि इन्धनको सहज आपूर्ति र वितरण मिलाउन लाग्नुपर्नेमा ओझाले व्यवस्थापकीय कुशलता देखाउन नसकेको एक जना पेट्रोल पम्प सञ्चालकले भने। उनले ओझाले इन्धनको सहज आपूर्ति र वितरण प्रणाली चुस्तदुरुस्त राख्न नसकेको बताए।

यस्तै, सर्वसाधारण उपभोक्ताले समेत इन्धनको सहज आपूर्ति र वितरण हुन नसक्दा समस्या भोग्दै आएका छन्। पेट्रोल तथा डिजल भर्न घण्टौ लाइनमा लाग्नुपर्ने, कतिपय अवस्थामा इन्धन नै नपाइने समस्या रहेको सर्वसाधारणले गुनासो गर्दै आएका छन्। यस विषयमा बुझ्न ओझाको मोबाइल नम्बरमा म्यासेज गरेर पटक–पटक फोन गर्दासमेत उनले फोन उठाएनन्।

इन्धनको सहज आपूर्ति हुन नसक्नुको कारण जान्ने अधिकार नागरिकको हुँदाहुँदै धनगढी डिपो प्रमुख ओझाले सूचना दिन आवश्यक नै ठानेका छैनन्। उनले डिपोको गेटबाट सूचना माग्न जाने परिचय पत्र बोकेका पत्रकारलाई समेत भित्र आउन नदिनू भन्ने उर्दी नै जारी गरेका छन्।
सूचनाको हक सम्बन्धी ऐनको धज्जी उडाउँदै ओझा
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ को (२) मा ‘प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ’ भन्ने उल्लेख छ। ऐनको दफा ४ को (१) मा ‘प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु, गराउनुपर्नेछ’ भन्ने उल्लेख छ।

यस्तै, दफा ४ कै (ख) मा ‘सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने’ भन्ने व्यवस्था छ। तर, धनगढी डिपो प्रमुखले नागरिकले मागेको सूचना प्रवाह गर्न रोक लगाएका छन्। सूचानाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा हरेक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था छ। तर, आयल निगम धनगढीको सूचना अधिकारी छ छैन भन्ने विषयको समेत जानकारी उपलब्ध गराइएको छैन।

सूचना तथा जानकारी माग्न गएका मिडियाकर्मीलाई गेटबाटै फर्काउने आदेश दिएका ओझाले आफ्नो कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरे/नगरेको विषयमा समेत जानकारी गराइएको छैन। धनगढीसहित सुदूरपश्चिमको बजारमा इन्धनको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था पटक–पटक आउने गरेको छ।

ओझा धनगढी डिपो प्रमुख भएर आउनुभन्दा अगाडिसम्म इन्धन आपूर्ति तथा वितरण प्रणालीको विषयमा आवश्यक जानकारी सहजै उपलब्ध हुने गरेको थियो। डिपो प्रमुखहरूले समस्या आउनासाथ समाधानको प्रयास गर्ने र समस्याको कारण बताउने गरेका थिए। तर, ओझाले भने सूचना सरल र सहज ढङ्गले सार्वजनिक गर्नुपर्ने विषयलाइ लत्याउने गरेको पाइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस