कैलालीमा गहुँबाली सत्यानास, किसानको गहुँ खेतमै खरानी

धनगढीः कैलालीमा किसानको गहुँबाली नै सत्यानास भएको छ।
गहुँबाली भित्र्याउने समयमा ठूलो परिमाणमा गहुँबालीमा नोक्सानी भएको छ। आगलागीबाट भित्र्याउन लागेको गहुँबालीमा क्षति पुगेको हो। हिजो (शनिबार) मात्र जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका एक स्थानीयको गहुँमा आगलागी भएको हो। घरको आगनमा बालेको आगो गहुँमा सल्कन पुगेपछि ५० विघा जमिनको काटेर राखेको गहुँ नष्ट भएको छ।
भजनी नगरपालिका–८ गौरचौरका टेङ्ना चौधरीको ८ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा आगलागी भएको छ। विद्युतको लाइन सर्ट भएर बिहीवार गहुँबालीमा आगलागी भएको हो। त्यस्तै, बिहीवार नै जोशिपुरका परशुराम चौधरीको १३ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा पनि आगलागी भएको थियो।
जोशीपुर गाउँपालिका–४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा पनि आगलागी भएको छ। आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ। शनिबार फेरी गहँुबालीमा आगलागी हुँदा १५ जना किसानको गहुँबालीमा क्षति पुगेको छ। जोशीपुर गाउँपालिका–६ पकरीयाका १५ जनाको गहुँमा आगलागी भएको हो।
२४ वर्षीया विपना गड्सीलाले फोहर जलाउने क्रममा गहुँबालीमा आगलागी भएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी निरीक्षक गणेश थापाले बताए। आगलागीबाट करिब सात विघा दुई कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा क्षती पुगेको छ। सबैभन्दा बढी महाराज कठरीयाको एक विघा, हरीचन्द्र वडायकको १५ र रामबहादुर महतोको १५ कठ्ठामा लगाएको गहुँबालीमा क्षती पुगेको छ।
उता कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ। दोधारा–चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले बताए। उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए।
स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि, भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो। कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ। जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो। यसैगरी, भजनी नगरपालिका–८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ।


