सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सशस्त्र प्रहरी बल १०१ किमी सीमा पैदल गस्तीमा परिचालन

२०८१ वैशाख ८, ०६:१५ नारायण अवस्थी

धनगढीः कैलालीमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा गस्ती सुरू गरेको छ।

सशस्त्र प्रहरीले कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा आठ दिनसम्म गस्ती गर्ने भएको हो। सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गण हेडक्वार्टरले शनिवार सीमा पैदल गस्ती सुरू गरेको हो। त्रिनगरस्थित सीमा स्तम्भदेखि सुरू भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिनेछ।

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग सम्बादसमेत गर्नेछ। शनिवार त्रिनगरस्थित सीमास्तम्भ ७५२/६ रहेको स्थानबाट सीमा पैदल गस्ती सुरू भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले पैदल गस्तीमा निस्केको टोलीलाई आवश्यक निर्देशनसहित विदाइ गरेका हुन्।

कैलालीको भारतसँग जोडिएको १०१ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगम र निरीक्षण गर्नेछ। सशस्त्र प्रहरीको ३५ जनाको टोलीले ८ दिन लगाएर दिनमा तथा रातमा समेत सीमा क्षेत्रमा गस्ती गर्नेछ। जिल्लाको पश्चिमी बिन्दु त्रिनगरबाट सुरू भएको पैदल गस्ती पूर्वी बिन्दु श्रीलङ्का स्थित  सीमास्तम्भ नम्बर ७ सयमा पुगेर समापन हुनेछ।

सीमा क्षेत्रमा पैदल गस्ती गर्दा सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिने पैदल गस्ती टोलीका कमान्डर एवं सशस्त्र प्रहरी निरीक्षक पुष्करबजादुर बमले बताए। ‘सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार यसअघि कञ्चनपुरको सीमा क्षेत्रमा समेत पैदल गस्ती गरिएको छ।

कैलालीमा पैदल गस्तीको क्रममा सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याका बारेमा समेत आवश्यक कुरा बुझी माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम हामीले गर्नेछौँ’, सशस्त्र प्रहरी निरीक्षक बमले भने।

यस्तै, सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा हुन लागेको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य अपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास धनगढी उपमहानगरपालिका–२ का वडाअध्यक्ष धर्मराज ओझाले व्यक्त गरेका छन्। उनले सीमा क्षेत्रमा हुन लागेको पैदल गस्तीले लागूऔषध ओसारपसार, तस्करी रोकिने र स्थानीयलाई सुरक्षाको अनुभूति हुने बताए।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले सीमा क्षेत्रमा पैदल गस्ती गर्ने क्रममा सीमास्तम्भ र सीमा क्षेत्रको अवस्थाको निरीक्षण गर्नेछ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि, राजनीतिदलका नेता, स्थानीय र भारतीय सीमा सुरक्षा बलका समकक्षीसँग समेत अन्तरक्रिया गर्नेछ। तस्करी नियन्त्रण, विपद व्यवस्थापन, आपराधिक गतिविधिको निगरानी र नियन्त्रण गर्न पैदल गस्तीले सहयोग पुग्ने सशस्त्र प्रहरी बलको विश्वास छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले ८ दिनसम्म पैदल गस्ती टोलीले दिन तथा रातिको समयमा समेत पैदल गस्ती गरेर सीमा क्षेत्रको निरीक्षण गर्ने बताए। ‘सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा ८ दिनसम्म पैदल गस्ती गरेर सीमा क्षेत्रको वास्तविक अवस्था थाहा पाउने छ र माथिल्लो निकायमा त्यसको रिपोर्टिङ गर्नेछ’, उनले भने। ‘पैदल गस्ती टोलीले १०१ किलोमीटर सीमा क्षेत्रको गस्ती गर्दा सीमा क्षेत्रका समस्या, तस्करी नियन्त्रण, लागुऔषध नियन्त्रण, सीमापार अपराध नियन्त्रण गर्न स्थानीय जनता, जनप्रतिनिधि र भारतीय समकक्षीहरूसँग पनि टोलीले आवश्यक समन्वय र संवाद गर्नेछ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस