सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम–रञ्जिताको सम्बन्धमै दरार, रेशम भन्छन् ‘जग नहँसाएर छुट्टिऔँ’

२०८१ वैशाख ८, ११:३८ खबर संवाददाता

धनगढीः पति रेशमलाल चौधरी र पत्नी रञ्जिता श्रेष्ठबिच खटपट बढेको विषय बाहिर आएको छ।

राजनीतिक विवाद र मतभेदका कारण श्रीमान/श्रीमतीको सम्बन्धमै दरार आएको विषय अहिले छताछुल्ल भएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमले पतिपत्नीबिच बढेको खटपटको विषय आफैले सार्वजनिक गरेका हुन्। उनले भनेका छन्। ‘जग नहँसाएर छुट्टिऔँ।’ रेशमले पत्नी रञ्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने/नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबिच विवाद छ। यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं जान लागेको उनले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई अरुले भड्काइरहेको उनको दाबी छ। ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमीले बुझेनौ,' रेशमले पत्नि रञ्जितालाई इङ्गित गर्दै लेखेका छन्।

'तिमी सोझी र अन्जान छ्यौ, तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए।’ रेशमले अघि लेखेका छन्, ‘यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो,’ उनले थप लेखेका छन्, ‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन्, तर अब रोकिनुहुन्न। संवादको सुरुवात गरे दुवैको मन हल्का होला। नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन्।'

'वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन्।’ उनले अरूको कुरा नसुनेर पार्टीहितमा काम गर्न आग्रह समेत गरेका छन्। ‘तिमीले यत्ति बुझ्नु रन्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो,’ उनले अगाडि भनेका छन्, ‘तिमीलाई मेरो सुझाव छ रन्जु, अहिले केहि दिन तीन तत्वबाट टाढा रहनु, छोरी भन्नेसँग, भाउजू भन्नेसँग र भान्जी भन्नेसँग। यी तीनको खेलबाट बच्नु कल्याण आफै हुन्छ।’

संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रह गरेका छन्। ‘जसले तिमीलाई मन्त्री ज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो। अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु। केवल २ जनाको मात्रै वार्तालाप होस्। एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ। हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ। यसैमा दुवैको भलाइ छ र पार्टीको कल्याण पनि।’

कमेन्ट लोड गर्नुस