कञ्चनपुरको डोकेबजार असान्त, मदिरामा लठ्ठ प्रहरीले जनप्रतिनिधि कुटे
कञ्चनपुरको डोके बजार क्षेत्र गयरातीदेखि असान्त बनेको छ। किशोर, किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र असान्त बनेको हो। जिल्लाको पुनरवास नगरपालिका वडा नम्वर ११ का १५ बर्षीय रोमन विक र १४ बर्षीय पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खवर गरेका थिए। सम्झौताका लागि दुवै पक्षलाई प्रहरी चौकी पचकडीयामा बोलाईएकोमा केटालाई घरपरिवारको जिम्मा लगाईएको थियो। तर केटी पक्षको कोही नआएको भन्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक कर्णवहादुर बमले ईलाकामा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए। सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा वडा नम्वर ११ का अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाईते भएका छन्। वडा नम्वर ११ का अध्यक्ष अर्यालले मदिरा सेवन गरेका प्रहरीले एक्कासी लाठी चार्ज गरेपछि आफु सहित तीन जना घाईते भएको बताए।
स्थानीय मिन वहादुरले प्रहरी निरिक्षक बम सहितका प्रहरी कर्मचारी मदिरामा लठ्ठ रहेको र स्थानीयसंगै जनप्रतिनिधिमाथि समेत ज्यादती गरेको आरोप लगाए। प्रहरीको ज्यादतीका विरुद्धमा गयरातीदेखि नै स्थानीयले आन्दोलन सुरु गरेका छन्। प्रहरीचौकी अगाडी नारावाजी गर्दै उनीहरुले सो क्षेत्रमा रहेको हुलाकी सडक समेत अवरुद्ध गरेका छन्। यता प्रहरी निरिक्षक बमले भने लाठीचार्ज नभएर केटीलाई ईलाकामा लैजाने क्रममा सामान्य विवाद भएको बताए।
