सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यी हुन् विद्यालयको जमिन भाडामा लिएर एक करोड नतिर्ने ठेकेदार

२०८१ वैशाख ७, ०६:५५ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा सामुदायिक विद्यालयको करिब एक करोड बक्यौता रकम उठ्न सकेको छैन।

जग्गा लिजमा लिएकाहरूले नै भाडा रकम तिर्न आनाकानी गर्दै आएका हुन्। धनगढीमा आठवटा सरकारी विद्यालयको जग्गा लिजमा लिएका व्यक्तिले विद्यालयलाई कबोल बमोजिमको भाडा नतिर्दा बक्यौता रकम वर्षेनि बढ्दै गएको छ। जग्गा ठेक्कामा लिएको सम्झौता अवधी समाप्त भइसक्दा समेत बक्यौता रकम उठाउन विद्यालयलाइ समस्या भइरहेको हो।

केहीले भने सम्झौताअनुसार जग्गा प्रयोग गरेर व्यक्तिगत लाभ लिए पनि विद्यालयलाई तिर्नुपर्ने रकम तिरेका छैनन्। धनगढीको त्रिनगरसहितका विभिन्न आठ सरकारी विद्यालयको ९८ लाख ६० हजार ९९६ रुपैयाँ बक्यौता रहेको देखिएको छ। विद्यालयको जग्गा र ताल ठेक्कामा लिएका व्यक्तिहरूले भाडा रकम नतिर्दा विद्यालयहरूको करिब एक करोड रकम उठेको छैन।

सबैभन्दा बढी बक्यौता रकम धनगढी–१६ रामपुरको शिव माध्यमिक विद्यालयको छ। शिव माध्यमिक विद्यालयको ताल ठेक्कामा लिएका धनगढी–२ का प्रकाश सिंहले ५४ लाख तिर्न बाँकी छ। यस्तै, धनगढी–१४ को जन जागृति माध्यमिक विद्यालयको २३ विघा जग्गा लिजमा लिएका देव फार्म हाउसका सञ्चालक रविनकान्त पन्तले चैतसम्मको करिब ११ लाख रकम विद्यालयलाई तिरेका छैनन्।

धनगढी–१६ घसिटाको बेहडा बाबा माध्यमिक विद्यालयको ताल ठेक्कामा लिएका व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारुले समेत गत माघसम्मको ४ लाख १२ हजार ५ सय भाडा तिरेका छैनन्। विद्यालयको जग्गा लिजमा लिएको समय समाप्त भइसक्दा पनि केही व्यक्तिले रकम तिरेका छैनन्।

२०७८ मै जग्गा लिजमा लिएको अवधी सकिए पनि धनगढी–१० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका रामबकस रानाले तिर्नुपर्ने एक लाख अझै नतिरेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक तर्कराज जोशीले बताए। ‘रामबकस रानाको सम्झौता २०७८ मै सकिएको हो, त्यसपछि अर्कैसँग भएको सम्झौता पनि सकिन लाग्यो तर रानाले तिर्न बाँकी एक लाख तिरेका छैनन्।

दिन्न भनेका छैनन्, जहिल्यै दस÷पन्ध्र दिनमा दिन्छु भन्छन् तर जति प्रयास गर्दा पनि असुल गर्न सकिएको छैन’, प्रधानाध्यापक जोशीले भने। त्रिनगर माध्यमिक विद्यालयको सटर भडामा लिएका व्यक्तिहरूले पनि विद्यालयलाई तिर्नुपर्ने रकम तिरेका छैनन्। त्रिनगर विद्यालयका सपिङ्ग कम्प्लेक्सका सटर भाडा लिएकाहरूले विद्यालयलाई गत चैतसम्म हुन आउने १० लाख भाडा तिरेका छैनन्।

यस्तै, धनगढी–३ बोराडाँडीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका भगवती बिल्डर्सका सञ्चालक योगेन्द्र चन्दले २०७७ मा वार्षिक ८ लाख २५ हजारमा १२ बिघा जग्गा लिजमा लिएको भए पनि एक वर्षको भाडा रकम विद्यालयलाई नबुझाएको प्रधानाध्यापक सिताराम अवस्थीले बताए। उनले विद्यालयको १२ बिघा जग्गा लिजमा लिएका भगवती बिल्डर्सका योगेन्द्र चन्दले करिब एक वर्षको भाडा रकम नतिरेको बताए।

धनगढी–१६ भादाको दिपेन्द्र चारपाते माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका व्यक्तिले पनि विद्यालयलाई बुझाउनुपर्ने ४ लाख रकम बुझाएका छैनन्। यसैगरी, धनगढी–११ को बेला आधारभूत विद्यालयको ताल भाडामा लिएका पूर्व वडाअध्यक्ष गङ्गाराम रानाले विद्यालयलाई तिर्नुपर्ने बक्यौता ४ लाख ७५ हजार ठेक्का सम्झौता समाप्त हुँदा समेत चुक्ता गरेका छैनन्।

यस्तै, सोही विद्यालयको जग्गा लिजमा लिएका प्यारे रानाले १ लाख ४३ हजार  मन्तोना रानाले एक लाख तथा प्यारे रानाले २८ हजार १५० रुपैयाँ विद्यालयलाई नबुझाएको प्रधानाध्यापक महावीर रानाले बताए। सामुदायिक विद्यालयहरूले आफूसँग भएको जग्गा र ताल भाडामा लगाएर त्यसबाट आउने रकमबाट निजी स्रोतमा शिक्षक व्यवस्थापन गरेर पठनपाठन गराउने व्यवस्था मिलाएका हुन्छन्। तर, जग्गा लिजमा लिनेहरूले भाडा नतिर्दा शिक्षकहरूलाई तलब खुवाउन समस्या देखिएको छ। जग्गा भाडामा लिनेहरूले विद्यालयको लिखित र मौखिक आग्रहको बेवास्ता गरेको विद्यालयहरूको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस