सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि भारतमा मतदान सुरु

२०८१ वैशाख ७, ०४:४९ रासस

आज (शुक्रबार) देखि  भारतमा मतदान सुरु भएको छ। आज सुरु भएको भारतको आम निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत प्राप्त गरेमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्नेछन्।

मोदीलाई भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) नामक करिब दुई दर्जन विपक्षी दलहरूको गठबन्धनबाट चुनौती छ। भारतीय संसद्मा दुई सदन (लोकसभा वा जनताको सभा र राज्य सभा वा राज्य परिषद्) रहेका छन्। आगामी निर्वाचनमा लोकसभाका पाँच सय ४५ सिटमध्ये पाँच सय ४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिले मनोनयन गर्नेछन्।

भारतमा लोकसभाका लागि प्रत्येक पाँच वर्षमा निर्वाचन हुन्छ। बहुमत सिट जित्ने दल वा गठबन्धनले सरकार बनाउँछ। भारतमा ९६ करोडभन्दा बढी मतदाता १० लाखभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न योग्य रहेको अधिकारीहरूले बताएका छन्। निर्वाचनका लागि करिब एक करोड ५० लाख मतदान अधिकृत र सुरक्षाकर्मी खटाइने छन्।

जुन १ सम्म सात चरणमा हुने निर्वाचनको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ। निर्वाचनसँग जोडिएको खर्च निकै ठूलो रहेको छ। आम चुनावमा १४ अर्ब ४० करोड अमेरिकी डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। मोदी सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए भने सन् २०१९ मा पुनः निर्वाचित भएका थिए। भाजपा र उसका सहयोगीहरूले यो चुनावमा चार सयभन्दा बढी सिट जित्ने लक्ष्य राखेका छन्।
 

कमेन्ट लोड गर्नुस