सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गमा आठवटा पुल निर्माणको काम अलपत्र

२०८१ वैशाख ५, ०६:२९ कमल सावद

धनगढीः कैलालीको धनगढीदेखि डोटीको दीपायलसम्मको द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०८७ माघ २२ गते सम्झौता भयो।

निर्माण कम्पनीले २०८० बैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्न सम्झौता भएको हो। मटेली खोलामा पुल निर्माणका लागि तीन करोड २६ लाख १५ हजार, चौकीगडाका लागि चार करोड ७० लाख ३३ हजार र चेपाट्टे खोलामा पुल निर्माणका लागि २ करोड ९७ लाख १६ हजारमा सम्झौता भएको छ।

सम्झौता अवधीभित्र काम पूरा नगरेको मित्र बिल्डर्सलाई पहिलो पटक २०८० कात्तिक १५ गतेसम्म पुल निर्माणको समय थप गरिएको थियो। तर, मटेली खोलाको पुलको प्रगति २०, चौकीगडा खोलाको पुलको प्रगति ३० र चेपाट्टे खोलाको पुलको भौतिक प्रगति पाँच प्रतिशत मात्र देखिएको छ। धनगढी–दीपायल–चैनपुर–उरै भञ्ज्याङ्ग सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले आठवटा पुलको द्रुत काम नभएको बताए।

उनले भने, ‘काम राम्रो भएको छैन। तर, काम छोडेको अवस्था पनि छैन। बजेटको अभाव छ। ४०/४० लाख मात्र बजेट थियो। ४० लाख भुक्तानी भइसकेको छ। असारसम्म पनि बजेट आउने निश्चित छैन। त्यही भएर पनि काम द्रुत नभएको हो।’ काला खोला लामागडा पुल निर्माणका लागि टीडीआर कन्स्टक्सनसँग २०७८ माघ १७ गते ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीले चार करोड ५ लाख २ हजार लागत रहेको पुल २०८० वैशाख १५ गतेभित्र निर्माण गरिसक्ने गरी सम्झौता भएको हो। तर, निर्माण कम्पनीले हालसम्म १६ प्रतिशत मात्र पुल निर्माणको काम गरेको छ। २०८० कात्तिक १५ गतेसम्मका लागि समय अवधि थपिएको थियो। मालिका–शनीदेव जेभीसम्ग नकुराडी खोला पुल निर्माणका लागि तीन करोड ८२ लाख ७४ हजारमा २०७८ माघ १६ गते सम्झौता भएको थियो।

निर्माण कम्पनीले २०८० वैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, कात्तिक १५ गतेसम्मका लागि समय थप गरिएको थियो। तर पुल निर्माणको प्रगति २० प्रतिशत मात्र देखिएको छ। गल्वा–जगदम्बा–सुर्मा सरोवर जेभीसँग तीन करोड ९७ लाख १८ हजारको सल्कोट खोलामा पुल निर्माणका लागि २०७८ माघ १६ गते सम्झौता भयो। २०८० वैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, निर्माण कम्पनीलाई कात्तिक १५ गतेसम्मका लागि समय थप गरिएको थियो।

पुल निर्माणको प्रगति भने ४० प्रतिशत मात्र देखिएको छ। हाटखोली खोला र ग्वासी खोलामा पुल निर्माणका लागि गुल्लीभर–कुटुम्ब–भुवनेश्वरी जेभीसाग २०७८ जेठ २५ गते ठेक्का सम्झौता गरिएको थियो। हाटखोलीमा पुल निर्माणका लागि पाँच करोड १९ लाख ७८ हजार र ग्वासी खोलामा पुल निर्माणका लागि चार करोड ५० लाख ६१ हजारमा सम्झौता भएको हो।

२०८० को मङ्सिर २४ गतेभित्र पुलको काम सक्नुपर्ने हो। तर, ९५ प्रतिशत काम अधुरै छ। चालु आर्थिक वर्षमा एक पुलका लागि ४० लाख मात्र बजेट विनियोजन भएको छ। पुल निर्माणको काम गरेका निर्माण कम्पनीहरुले २ करोड रुपैयाँ पाउन बाँकी छ। बजेट अभावका कारण पुलको काम अघि बढ्न नसकेपछि २०८२ वैशाख र जेठसम्म म्याद थपका लागि निर्माण कम्पनीहरुले निवेदन दिएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस