सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीको विषयमा धनगढीमा चार दलका सांसदहरुको गोप्य बैठक

२०८१ वैशाख ४, १२:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्रीको विषयलाई लिएर अहिले धनगढीमा गोप्य बैठक बसेको विषय बाहिर आएको छ।

माओवादी, एमाले, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसद गोप्यस्थानमा बैठकमा बसेको स्रोतले बताएको छ। साथै एकीकृत समाजवादीलाइ मुख्यमन्त्री दिएर सो पार्टीलाइ मनाउने प्रयास समेत भइरहेको हो। नेताहरुबिच नयाँ समझदारी भए यसअघि एकीकृत समाजवादीले चालेको कदमबाट पछाडि फर्किने र नयाँ कोर्ष सुरु हुनेछ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालबिच बालुवाटारमा भेट भएको छ। भेटमा प्रधानमन्त्रीले सुदूरपश्चिममा मिलाउने आश्वासन दिएका छन्। मुख्यमन्त्री नदिने भएपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीले विद्रोह गर्दै सुदूरपश्चिममा कांग्रेस, राप्रपासहित नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडी सारेका थिए।

अहिले धनगढी र काठमाडौंमा प्रदेश प्रमुखले कुन विधि अपनाएर प्रक्रिया मिलाउने भन्ने छलफल भइरहेको छ। आइतबार दाबी पेस गर्ने समयमा नागरिक उन्मुक्तिकै दुई जना सांसदको दाबी पेस भएकाले प्रदेश प्रमुखले दुबै दाबीलाई रद्द गरेर नयाँ प्रक्रिया सुरु गराउन पहल गर्न सकिने लगायतका विकल्पमा छलफल भइरहेको छ।

आइतबार प्रदेश प्रमुखले दिएको समयावधिभित्र नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र रञ्जिता पक्षधर कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। लक्ष्मण किशोर चौधरीका समर्थकमा कांग्रेस संसदीय दल, एकीकृत समाजवादी संसदीय दल र राप्रपाले समर्थन गरेका छन्। नागरिक उन्मुक्तिका सातमध्ये पाँच जना सांसद उनको पक्षमा छन्। उनलाई समर्थन गर्ने दल तथा सांसदहरुको संख्या २८ जना पुगेको देखिएको छ।

अर्कोतिर रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थन गरेका छन्। आफ्नै दल नागरिक उन्मुक्तिबाट उनीसहित दुई जना मात्र छन्। उनको पक्षमा २३ जनाको समर्थन देखिएको छ। तर एउटै पार्टीबाट दुई जनाको दावी पेश भएको भन्दै प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्शका लागि समय चाहिने भन्दै मंगलबार निर्णय दिने दलहरुलाई बताएका थिए।

कमेन्ट लोड गर्नुस