सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जित 

२०८१ वैशाख ३, ०४:०३ खबर संवाददाता

नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमवार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। नेपालका लागि आसिफ सेखले सर्वाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो। वर्षाले प्रभावित भएपछि यो खेल १८–१८ ओभर खेलाइएको छ। हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले एक विकेट लिएका थिए। यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शीर्ष स्थानमा रहेको छ। साथै नेपालले सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ। नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधवार साउदी अरेबियासँग खेल्ने छ।
 

कमेन्ट लोड गर्नुस