सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ९७ वडामा फेला परेनन् कृषि कामदार

२०८१ वैशाख ३, ०१:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कृषि कामदारको चरम अभाव देखिएको एक सरकारी अध्ययनले नै देखाएको छ।

राष्ट्रिय कृषि गणनाको आइतबार सार्वजनिक प्रतिवेदनले यस्तो देखाएको हो। पछिल्लो समय युवाहरूको विदेश पलायन र सहरीकरणले सामुदायिकस्तरमा कृषि कामदारको चरम अभाव देखिएको छ। विवरण संकलन गरिएका वडाहरूमध्ये तीन वर्षमा ४० प्रतिशत वडाहरूमा कृषि कामदारको अभाव भएको छ। सुदूरपश्चिममा ९७ वडामा कृषि कामदारको अभाव हुने गरेको पाइएको हो।

कृषि गरिरहेका अधिकांश किसानलाई विषादीको बारेमा पूर्ण ज्ञान नभएको समेत पाइएको छ। सार्वजनिक प्रतिवेदनअनुसार कृषिबालीमा विषादीको प्रयोगको विषयमा सामान्य जानकारीबाहेक झण्डै ८० प्रतिशत किसानलाई पूर्ण ज्ञान नभएको पाइएको हो। उत्पादन गरिएका बालीमा प्रयोग भएका विषादीका बारेमा आंशिक सचेत किसानको संख्या बढी देखिए पनि २० दशमलव ७ प्रतिशत किसान मात्र बढी सचेत रहेको तथ्यांकले देखाएको छ।

त्यस्तै कृषि कामदारको औसत ज्यालामा महिलाको तुलनामा पुरुषलाई बढी रहेको समेत पाइएको छ। प्रतिवेदनअनुसार महिला कामदारलाई पाँच सय ३८ रुपैयाँ दैनिक ज्याला र पुरुषलाई ६ सय रुपैयाँ रहेको छ। साथै सुदूरपश्चिमका तीन सय ४० वडाहरुमा मात्र बाह्रै महिना मोटर चल्ने सडक रहेकोे प्रतिवेदनमा उल्लेख छ।

कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति बाढीपहिरोबाट हुने गरेको समेत पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को प्रतिवेदनले यस्तो देखाएको हो। कार्यालयले ४५ दिन लगाएर तथ्यांक संकलन गरेको थियो। हरेक पालिकाको वडामा पुगेर भू–उपयोग, सामाजिक–आर्थिक अवस्था, वडामा उपलब्ध सामुदायिक सेवा–सुविधाका विषयमा कार्यालयले अध्ययन गरेको थियो।

सुदूरपश्चिममा चार लाख ५७ हजार सात सय ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गर्दै आएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशभित्र धान एक लाख आठ हजार आठ सय, मकै २३ हजार ७३ र गहुँ एक लाख चार हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको छ। त्यस्तै आँप तीन सय, केरा सात सय पाँच, सुन्तला तीन सय ९३, कागती एक सय ८१ र स्याउ एक सय ३९ हेक्टरमा गरिँदै आएको छ।

कमेन्ट लोड गर्नुस