सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्द्रीय गठबन्धनको नीतिविपरीत सुदूरपश्चिममा एकीकृतको ‘विद्रोह’

२०८१ वैशाख ३, ११:१३ खबर संवाददाता

धनगढीः सत्ता गठबन्धनकै एकीकृत समाजवादीले सुदूरपश्चिम सरकार निर्माणमा आइतबार कांग्रेससहितको गठबन्धनलाई साथ दिने निर्णय गरेपछि राजनीतिले नयाँ रुप लिने आंकलन गरिएको छ।

यसले गठबन्धनकै भविष्यमाथि संशय पैदा गरिदिएको छ। सुदूरपश्चिम सरकारमा मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाको दाबी परेको छ। सत्ता गठबन्धनको साझेदार एकीकृत समाजवादीले कांग्रेससमेतको समर्थनमा दाबी गरेका लक्ष्मणकिशोर चौधरीलाई सघाउने निर्णय लिएको छ भने एमाले–माओवादीले उन्मुक्तिका अर्का नेता कैलाश चौधरीलाई समर्थन गरेका छन्।

केन्द्रीय गठबन्धनको नीतिविपरीत एकीकृत समाजवादीका सांसदहरूले सुदूरपश्चिम सरकार निर्माणमा गरेको ‘विद्रोह’ ले डेढ महिनाअघि निर्माण भएको सत्ता समीकरण कति दिन टिक्ने हो भन्नेमा शंका पैदा भएको छ। सुदूरपश्चिममा एकीकृत समाजवादीले मुख्यमन्त्रीको दाबी गर्दै आएको थियो।

राष्ट्रिय सभाको उपाध्यक्ष र मनोनीत सदस्यमा आश्वासन पूरा नभए पनि सुदूरपश्चिममा मुख्यमन्त्री र बझाङको प्रदेशसभामा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने प्रस्ताव एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राख्दै आएका थिए। तर सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्तिले समर्थन नगर्दासम्म एकीकृतले पाउने विषय भने सम्भव थिएन। नवगठित केन्द्रीय सत्ता गठबन्धनविपरीत सुदूरपश्चिममा समाजवादीले कांग्रेससहितको सरकार गठनको प्रयास गरेको छ।

नागरिक उन्मुक्ति सुरुदेखि नै विभाजित छ। नागरिक उन्मुक्तिको एउटा समूहले नवगठित केन्द्रीय सत्ता गठबन्धनकै सरकार गठनको प्रयास गरेको छ भने अर्को समूहले कांग्रेससहितको गठबन्धनको प्रयास गरेको छ। अहिले नागरिक उन्मुक्ति पार्टीमा पार्टी कार्यकर्तादेखि सांसदहरू दुईवटा समूहमा विभाजित छन्। एउटा समूह पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा छ भने अर्को समूह संरक्षक रेशम चौधरीको पक्षमा छ।

सांसद लक्ष्मण किशोर चौधरीले रेशम समूहबाट र कैलाश चौधरीले रञ्जिता समूहबाट दाबी पेस गरेका हुन्। सात जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीमा पाँच जना रेशम समूहमा देखिएका छन् भने दुई जना सांसद रञ्जिता पक्षमा छन्। रेशम समूहबाट दाबी पेस गरेका लक्ष्मण किशोरलाई कांग्रेस, एकीकृत समाजवादी र राप्रपाले समर्थन गरेको छ।

रञ्जिता समूहका कैलाशलाई माओवादी केन्द्र, एमाले र स्वतन्त्र सांसदले साथ दिएका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना छन्। कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद छन्। बहुमत पुगाउन २७ सांसदको आवश्यकता रहेको छ।

कमेन्ट लोड गर्नुस