सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ धनगढी आउदै

२०८१ वैशाख २, ०४:०६ खबर संवाददाता

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौँबाट धनगढी आउदैछन्। प्रदेशमा पार्टीबाट २ जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेका बेला अध्यक्ष श्रेष्ठ धनगढी आउन लागेकी हुन्। नागरिक उन्मुक्ति पार्टी स्रोतका अनुसार पूर्व मन्त्रीसमेत रहेकी अध्यक्ष श्रेष्ठ आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

उनका पक्षका भनिएका कैलाश चौधरीको पक्षमा बहुमत नपुग्ने देखिएपछि अध्यक्ष श्रेष्ठ धनगढी आउन लागेकी हुन्। नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। लक्ष्मण किशोरले नेपाली काँग्रेसका १८, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गरेका छन्। उनको पक्षमा बहुमत देखिएको छ।

नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीले माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यमा उनलाई तीन जनाको मात्र समर्थन रहेको बताइएको छ। तर, एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्यहरूको लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन केन्द्रबाट फिर्ता गर्न लगाउने प्रयास हुँदैछ। 

 

कमेन्ट लोड गर्नुस