सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा उप्किएको कालोपत्रको नमुना परीक्षण हुने

२०८१ वैशाख २, ०२:३८ कमल सावद

धनगढी : कैलालीको गौरीगंगाका चारवटा सडकमा एक दशमलव ६६५ किलोमिटर कालोपत्रका लागि गत वर्षको फागुन १८ गते ठेक्का सम्झौता भयो।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, धनगढी र जयलक्ष्मी–महिमा जेभीका बिचमा २०७९ फागुन १८ गते एक करोड ४१ लाख ५८ हजार एक सय २ रुपैयाँमा चार सडक निर्माणको सम्झौता भएको हो। सम्झौता अनुसार २०८० चैत १५ गते भित्र कालोपत्रको काम पूरा भएको छ। तर, सडक कालोपत्र गरिएको एक महिनामै भत्किएको छ। पूर्वाधार कार्यालय, धनगढीले भत्किएको कालोपत्रको नमुना परीक्षण गर्ने भएको छ। ‘ल्याबमा पठाउने हो। नमुना सङ्कलन गर्ने छौ,’ उनले भने।

पूर्वाधार विकास कार्यालय, धनगढीले ठेक्का मार्फत निर्माण गरेको जनप्रिय मावि–गुलिनिया सडकको कालोपत्र भत्किन सुरु भएपछि गुणस्तर परीक्षण गरिने भएको हो। आइतवार सडकमा गरिएको कालोपत्रको गुणस्तर परीक्षणका लागि नमुना सङ्कलन गरिने छ। पाँच सय १९ मिटर लम्बाइको उक्त सडक कालोपत्र गरेको एक महिना नहुँदै भत्किएपछि पूर्वाधार कार्यालयले गुणस्तर परीक्षण गर्ने भएको हो। कालोपत्र भत्किन थालेपछि निर्माण कम्पनीलाई भुक्तानीसमेत दिइएको छैन। गुणस्तरहीन काम गरेकाले भुक्तानी रोक्का गरिएको हो। ह्युमपाइप, पर्खाल लगायतको काममा निर्माण कम्पनीले राम्रो काम गरेको भएपनि कालोपत्रको काम गुणस्तरीय नभएको प्राविधिकहरूलेसमेत बताएका छन्। धामीले भने, ‘पूर्वाधारमा प्रयोगशालाको दरबन्दी छ। पहिला पनि गरेको हो। अहिले भत्किएको सडकको गर्छाै।’

सुदूरपश्चिम सरकारले एक दशमलव ६६५ किलोमिटर लम्बाइका चार सडक निर्माणका लागि ठेक्का गरेको थियो। प्रदेश सरकारले ५१९ मिटरको जनप्रिय मावि–गुलिनिया सडक, ३९५ मिटरको मट्कौना–पस्लापट्टी सडक, ३३६ मिटरको महादेवा सडक र ३१५ मिटरको मसुरिया खानेपानीको टङ्की भएको क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का गरेको थियो। प्रदेश सरकारले २ सेन्टिमिटरको कालोपत्र, २० सेन्टिमिटरको सव–बेस र १५ सेन्टिमिटरको बेससहितको सडक कालोपत्र गर्न ठेक्का गरेको हो। तर, निर्माण कम्पनीले लापर्बाही गरेको छ।गौरीगंगा नगरपालिका–८ लिक्मामा कालोपत्र गरेको एक महिनामा सडक भत्किएको छ। पूर्वाधार विकास कार्यालय, कैलालीले ठेक्का सम्झौता मार्फत कालोपत्र गरेको सडक भत्किएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस