सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबा मावि धनगढी सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउनेमा यसरी बन्यो अब्बल

२०८१ वैशाख १, ०६:१६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका–१६ घसिटास्थित बेहडाबाबा माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०८० मा कक्षा ८ को परीक्षामा सर्वाधिक विद्यार्थी पास भएका छन्।

गत वर्ष एक जना मात्रै पास भएकोमा यो वर्ष ५१ जना विद्यार्थी पास भएका हुन्। गत वर्ष ६६ जना आधारभूत तहको परीक्षामा सम्मीलित भएकामा यो वर्ष ७६ जनाले परीक्षा दिएका हुन्। जसमध्ये पहिलो चरणमा ५१ जना पास भएका छन्। गत वर्ष एक जना मात्रै पास भएपछि शैक्षिक सत्रको सुरूबाटै फरक तरिकाले पढाएर सिकाउँदा यो वर्षको नतिजा राम्रो आएको प्रधानाध्यापक भोजराज शर्माले बताए।

‘गत वर्ष एक जना मात्रै पास भएपछि, शैक्षिक सत्र सुरू हुनासाथ अभिभावक भेला राखेर सुधारका उपायबारे छलफल गरेका थियौँ। २०८० को जेठबाटै नियमित पठनपाठनका अतिरिक्त कोचिङ कक्षा चलाएर सिकाइमा सुधार ल्याउने प्रयास गरेकाले यो वर्षको नतिजा सुधार भएको हो’, प्रधानाध्यापक शर्माले भने।

शैक्षिक सत्र २०७९ मा कक्षा ८ को वार्षिक परीक्षामा एक जना मात्रै पास भएको धनगढी–१६ घसिटाको बेहडा बाबा माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०८० मा भने सर्वाधिक विद्यार्थी पास भएका हुन्। गत वर्षबाट नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘नमुना विद्यालय’ कार्यक्रम लागू भएको बेहडा बाबा माध्यमिक विद्यालयका ७६ जना परीक्षार्थीमा ५१ जना पहिलो चरणमै सफल भएका छन्।

थप  १५ जना मौका परीक्षा दिन पाउने भएका छन् भने १० जनाले मात्रै यो वर्ष कक्षा दोह¥याएर पढ्नुपर्ने छ। शैक्षिक सत्र २०७९ मा एक जना मात्रै पास भएपछि विद्यार्थीहरूको नतिजामा सुधार गर्न योजनाबद्ध किसिमले पठनपाठन सञ्चालन गरेको  प्रधानाध्यापक शर्माले बताए। ‘यो वर्ष विद्यार्थीहरू पनि चिन्तित देखिए, अभिभावकले पनि बालबालिकाको पढाइप्रति चासो राखे भने व्यवस्थापन समितिले शिक्षक तथा प्रधानाध्यापकले राखेका प्रस्तावमा समर्थन जनाए’, प्रधानाध्यापक शर्माले भने, ‘हामीले बनाएको समय तालिका अनुसार विद्यार्थीहरूले अध्ययन गर्दा नतिजामा सुधार आएको हो।’

शैक्षिक सत्र सुरू भएदेखि नै अभिभावक भेला बोलाएर विद्यार्थीको पढाइमा सुधार ल्याउन शिक्षक विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिले गर्नुपर्ने कामहरूको समिक्षा गर्दै तत्काल सुधारका काम थालिएको हो। विद्यार्थीहरूको लेखन क्षमता विकास गर्न भाषा विषयका अतिरिक्त कक्षा, लेखन सीप र क्षमताका विकास गर्न कक्षा चाइएको थियो। साउनदेखि नै विद्यालयले विद्यार्थीहरूमा भाषिक क्षमता र लेखन सीपको विकास गर्ने हिसाबले अतिरिक्त कक्षा चलाइएको प्रधानाध्यापक शर्माले बताए।

पुस महिनादेखि कक्षा ८ का सबै विद्यार्थीलाई विद्यालयमै बसाएर पढ्ने वातावरण निर्माण गरिएको थियो। कक्षा ८ का विद्यार्थीले पुसबाट होस्टेलमै बसेर अध्ययन गरेका थिए। विद्यार्थीको पढाइलाई सहयोग गर्न हरेक दिन शिक्षकहरू पालैपालो विद्यालयमै बसेका थिए। शिक्षक, अभिभावक र विद्यार्थीको मेहनत तथा शिक्षा महाशाखाको मार्गदर्शनबाट विद्यार्थीको नतिजामा सुधार ल्याउन सकिएको प्रधानाध्यापक शर्माको भनाइ छ।

शैक्षिक सत्र २०८० को सुरुबाटै विद्यालयले बनाएको तालिका अनुसार विद्यार्थीले पठनपाठन र अध्ययन गर्न रुचि देखाए भने व्यवस्थापन समिति र अभिभावकहरूले विद्यालयले राखेका सबै प्रस्तावमा समर्थन जनाए। विद्यार्थीको पढाइमा सुधार ल्याउन अगाडि सारिएका सबै उपायमा सम्पूर्ण शिक्षकहरूले समेत साथ र समर्थन दिँदा अहिलेको नतिजा आएको प्रधानाध्यापक शर्माले बताए। ‘नतिजा राम्रो ल्याउन सबै शिक्षकहरूको भूमिका रहेको छ।

अभिभावकहरू, शिक्षक अभिभावक संघ, व्यवस्थापन समितिको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। विद्यार्थीले सिक्ने वातावरण खोजेका थिए। हामीले त्यो निर्माण ग¥यौँ, त्यसैले नतिजामा सुधार आएको हो’, प्रधानाध्यापक शर्माले भने। शैक्षिक सत्र २०७९ मा धनगढीका सामुदायिक विद्यालयको नतिजा कमजोर आएपछि विद्यालयहरूले नतिजामा सुधार ल्याउन थुप्रै प्रयास गरेको देखिन्छ। उपमहानगरको शिक्षा महाशाखाको निरन्तरको अनुगम, अभिभावकको चासो र शिक्षक तथा विद्यार्थीहरूको मेहनतका कारण परीक्षाको नतिजामा सुधार आएको शिक्षकहरूले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस