समृद्धिको जनचाहना पूरा गर्नुपर्छः अध्यक्ष नेपाल
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पू्रा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलकाबीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्ने बताएका हुन्। सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व मननीय छ भन्दै सन्देशमा अध्यक्ष नेपालले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।
देशविदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुखशान्तिको कामना गर्दै उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट आममानिसको हितमा काम गर्नुपर्ने बताएका छ्न्।