लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत प्राप्त
लुम्बिनीः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो। यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन।
बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका चार, नेकपा एसका एक र स्वतन्त्र एक जना सदस्यसहित ४८ मत प्राप्त गरेको प्रदेशसभाका सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन। ८६ सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २६ र जनमत पार्टीका दुई जना गरी २८ जनाले मत खसालेका थिए।