सुदूर नेपाललाई विश्वसँग जोड्दै

भौतिक पूर्वाधार नहुँदा महाकाली आयुर्वेद औषधालयमा समस्या

२०८० चैत्र ३०, ०४:४३ रासस

कञ्चनपुरः महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ। आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढेपनि जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या देखिएको हो।

औषधालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति नहुँदा महिला र पुरुष बिरामीलाई एउटै कोठामा पर्दा लगाएर उपचार गर्नुपर्ने बाध्यता रहेको औषधालयले जनाएको छ। भवन पनि चुहिने र जीर्ण अवस्थामा रहेको हुँदा उपलब्ध जनशक्तिले पनि गुणस्तरीय आयुर्वेद सेवा दिन नसकेको औषधालयका प्रमुख डा ओम प्रकाश कलौनीले बताए।

“विसं २०५२ सालमा निर्माण भएको भवन जीर्ण भइसकेको छ”, डा कलौनीले भने, “भएको जनशक्तिले पनि भौतिक पूर्वाधर अभावका कारण सेवा दिन सकेका छैनौँ।” पछिल्लो समय पञ्चकर्म सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको उनले बताए। उनले सामाजिक विकास मन्त्रालयले डिपीआर तयार गरेको बताउँदै आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने अपेक्षा गरेको बताए।

औषधालयले दिने सेवा राम्रो भए पनि साघुँरो कोठामा उपचार गर्न जाँदा निकै सकस हुने गरेको सेवाग्राहीको गुनासो छ। पञ्चकर्म सेवा लिन औषधालयमा पुगेका स्थानीय चन्द्रकान्त ठकुराठीले अस्पतालमा बिरामीलाई बस्न र शौचालयको सुविधासमेत नभएको बताए। “उपचारका लागि साघुँरो कोठामा पर्दा लगाएर महिला र पुरुषको उपचार हुन्छ यसले असहज भएको छ ” महिला पुरुषका लागि छुट्टै कोठामा उपचारको व्यवस्था हुनुपर्ने उनले बताए।
 

कमेन्ट लोड गर्नुस