सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मुख्यमन्त्री कैलाश चौधरी बन्दै

२०८० चैत्र ३०, ०१:२४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ।

प्रदेश सरकारको आगामी नेतृत्व आफ्नो पार्टीले गर्ने सहमति भएको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी हुन्। आफ्नै दलको नेताले प्रदेश सरकारको नेतृत्व लिने गरी केन्द्रमा सहमति भएको उनले बताएकी हुन्। नयाँ सरकारको नेतृत्व मुख्यमन्त्रीका रूपमा कैलाश चौधरीले गर्ने भएका हुन्। त्यसबाहेक नागरिक उन्मुक्तिले थप एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको दाबी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको दाबी छ। 

मुख्यमन्त्री बन्न लागेका कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीले आगामी नेतृत्व लिने गरी सहमति भइसकेको बताए। ‘हाम्रो पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिने सहमति भइसकेको छ। एक दुई दिनभित्रै नयाँ सरकार बन्छ।’ नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा चौधरीका नाममा निर्णय समेत गरिसकेको छ। नयाँ वर्षमा सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो।

पार्टीमा केही समय देखिएको मतभेद पनि टुंगिसकेको नेताहरुको दाबी छ। सुदूरपश्चिमका हाम्रा प्रदेश सांसदहरू सबै एकै ठाउँ बसेर पार्टी एक ढिक्का भएको सन्देश दिइसक्नुभएको पार्टी अध्यक्ष रञ्जिताको तर्क छ। नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न नागरिक उन्मुक्ति पार्टीले गृहकार्य थालेको हो।

पार्टी अध्यक्ष रञ्जिताले कैलाश चौधरीलाई दलको नेता तोकेपछि मुख्यमन्त्रीको लागि समर्थन जुटाउन गृहकार्य गरेकी थिइन्। यसैबिच रेशम पक्षीय मानिने नागरिक उन्मुक्तिका बहुमत (४ जना) सांसदले सरकारको नेतृत्व गर्न काम चलाऊ सरकारका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई सहमति दिएपछि उनी पनि मुख्यमन्त्री बन्ने दौडमा देखिएका छन्।

लक्ष्मण किशोरलाई संसदीय दलका नेता रहेका घनश्याम चौधरी, प्रमुख सचेतक खुसीराम चौधरी र रामेश्वर चौधरीले समर्थन गरेका छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ सांसद थिए। इन्दिरा गिरीलाई पार्टीले फिर्ता बोलाएपछि अहिले ६ जना छन्। लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन ६ मध्ये ४ सांसदले सहमति गरेका हुन्। सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ।

तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नागरिक उन्मुक्तिको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्। नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्। अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ। नयाँ सत्ता गठबन्धन घटक दल माओवादीको १० (सभामुख बाहेक), एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गर्ने नाउपा सांसद कैलाश चौधरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस